काठमाडौं– जेन्जी विद्रोहपछिको राजनीतिक परिस्थितिमा नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीबीच भएको पार्टी एकता सहमति अब संकटमा परेको छ ।
आइतबार ८ दलबीच हस्ताक्षर भएको सहमति पत्रपछि दुवै पार्टीभित्र नेतृत्व हस्तान्तरण र पुनर्गठनको मागसहित आन्तरिक द्वन्द्व तीव्र बनेको हो ।
माओवादीका जनार्दन शर्मा र समाजवादीका घनश्याम भुसाल नेतृत्वको असन्तुष्ट समूह अल्पमतमा रहे पनि पुनर्गठनका तयारीमा जुटिरहेको छ ।
भुसालले सोमबार प्रचण्डसँग भेटेर पहिले पुनर्गठन, पछि एकता प्रस्ताव गरे पनि प्रचण्डले पहिले एकता, पछि पुनर्गठन भन्दै अस्वीकार गरेपछि भुसाल असन्तुष्ट बनेका छन् ।
शुक्रबार बसेको समाजवादीको बैठकमा भुसाल, झलनाथ खनाल, रामकुमारी झाँक्रीलगायत नेताहरू एकता निर्णयप्रति असन्तुष्ट देखिए ।
उनीहरूबीच पनि मतभेद देखिएको छ ।
खनाल र झाँक्री एमाले फर्किनुपर्ने पक्षमा छन् भने भुसाल नयाँ पुनर्गठित दलको तयारीमा छन् ।
माओवादीभित्र पनि जनार्दन शर्मा नेतृत्वको समूह पुनर्गठन र वैचारिक स्पष्टताको पक्षमा सक्रिय छ ।
उनीहरूले हडबडीको एकता टिक्दैन भन्दै वैचारिक र संगठनात्मक तयारीबिना गरिएको एकताप्रति असन्तोष जनाएका छन् ।
तर, माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले भने एकता विस्तृत छलफल र दीर्घ गृहकार्यको नतिजा भएको दाबी गर्दै यो दिगो हुने विश्वास व्यक्त गरेका छन् ।
एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले पनि प्रचण्ड र माधव नेपाल दुवै महाधिवेशनपछि नेतृत्व हस्तान्तरणका पक्षमा रहेको बताएका छन् ।
कात्तिक १९ गते काठमाडौंको भृकुटीमण्डपमा आठ दलको संयुक्त पार्टी घोषणा गर्ने तयारी छ ।
१८ बुँदे सहमति पत्रमा माओवादी, समाजवादी, महेन्द्र राय यादवको समाजवादी पार्टी, विप्लव समूहका दुई धडा, राजु कार्कीको नेकपा समाजवादी र सुवासराज काफ्ले नेतृत्वको जनसमाजवादी पार्टी सहभागी छन् ।
दल दर्ताको समयसीमा (कात्तिक ३०) नजिकिँदै जाँदा हतारमा एकता घोषणा गर्न लागिएको बताइएको छ ।
नयाँ पार्टीको नाम तय नभए पनि चिन्ह ‘पाँचकुने तार’ र सिद्धान्त ‘मार्क्सवाद–लेनिनवाद’ हुनेछ भने कार्यक्रम ‘नेपाली विशेषताको वैज्ञानिक समाजवाद’ रहनेछ ।























