काठमाडौं– काठमाडौंमा मंसिर २७–२९ गते हुने नेकपा (एमाले)को एघारौँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले टक्कर दिने भएका छन् ।
ओलीले निर्विकल्प अध्यक्ष बन्न खोज्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नवीकरण भइसकेको सदस्यता निलम्बनमा राखे पनि अब पोखरेलसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।
पोखरेलका पक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण विष्टलगायत सचिवालयका बहुमत सदस्य रहेका छन् ।
उनीहरूका अनुसार पोखरेल भण्डारीसँग परामर्श गरेरै उम्मेदवारी दिन तयारी अवस्थामा छन् ।
ओलीले तेस्रो कार्यकालका लागि विधान संशोधन गरी उमेरहद र दुई कार्यकालको सीमा हटाइसकेका छन् ।
तर, जेन्जी आन्दोलनपछि ओलीलाई पद हस्तान्तरण गर्न दबाब दिने नेतामध्ये पोखरेल पनि थिए ।
भण्डारीको सदस्यता रोकिएको विषयमा ओलीविरुद्ध सचिवालयमै असन्तुष्टि बढेको छ ।
सो विषय महाधिवेशनमा मुख्य एजेन्डा बन्ने तयारीमा पोखरेल पक्ष छ ।
यसपटक एमाले महाधिवेशनमा ओली र पोखरेल नेतृत्वमा दुई प्यानलबीच प्रतिस्पर्धा हुने सम्भावना बढेको छ ।
यसका लागि विद्याले बहुमत जुटाउने कसरत गरिरहेकी छन् ।























