images
images
  • नख्खु कारागार पुग्यो जाँचबुझ आयोग : रवि, जेलका नाइके र भाइनाइकेहरूसँग सोधपुछ

    काठमाडौं– जेन्जी आन्दोलनमा भएको दमन र त्यसपछिको आगजनीबारे छानबिन गर्न गठित आयोगले सोमबार नख्खु कारागारमा पुगेर पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सोधपुछ गरेको छ ।

    आयोगको टोलीले लामिछानेसहित अन्य कैदीबन्दी र कारागारका अधिकारीहरूसँग पनि कुराकानी गरेको थियो ।

    भदौ २४ गते आन्दोलनकारीको भीड नख्खु कारागार पुग्दा लामिछाने बाहिर निस्किएका घटनाबारे आयोगले जानकारी लिएको हो ।

    लामिछानेले कारागारबाट बाहिर निस्कनु जेलर सत्यराज जोशीको पत्रका आधारमा भएको दाबी गर्दै आएका छन् ।

    आयोगले जोशीसँग पनि अघिल्लो दिन सोधपुछ गरेको थियो ।

    सुप्रिम सहकारी प्रकरणमा थुनामा रहेका लामिछाने भैरहवाबाट केही महिनाअघि नख्खु कारागार ल्याइएका थिए ।

    आयोगले सोधपुछका क्रममा लामिछानेसँग थुनामुक्तीको पत्र, त्यसबेलाको परिस्थिति र कारागारको सुरक्षास्थितिसहितका विषयमा छलफल गरेको स्रोतले बतायो ।

    उपत्यका बाहिर अध्ययन गरेर फर्किएको आयोग हाल काठमाडौंका घटनामा केन्द्रित भएको छ ।

    आइतबार मात्रै आयोगले प्रहरी मुख्यालयलाई पत्र पठाउँदै भदौ २३ र २४ का घटनामा जिम्मेवार प्रहरी अधिकृतहरूलाई उपत्यका नछोड्न निर्देशन जारी गराएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images