काठमाडौं– पूर्वराजा वा राजपरिवारका सदस्यहरूको सक्रिय सहभागितामा नयाँ राजनीतिक दल गठनको तयारी थालिएको छ ।
गणतन्त्र स्थापनापछि नागरिक सरह बनेका राजपरिवारका सदस्यबीच यस विषयमा आन्तरिक छलफल सुरु भएको स्रोतले जनाएको छ ।
राप्रपा लगायत परम्परागत राजावादी दलहरूभन्दा फरक ढंगले नयाँ राजनीतिक संरचना तयार पार्ने उद्देश्यले यो पहल गरिएको बताइन्छ ।
पूर्वयुवराज्ञी हिमानी शाहको नेतृत्वमा सञ्चालन हुँदै आएको ‘हिमानी ट्रष्ट’को सहयोगमा पार्टी दर्ता गर्ने वा अन्य व्यक्तिलाई औपचारिक रूपमा अघि सार्ने विषयमा समेत छलफल भइरहेको छ ।
यद्यपि राजपरिवारका सदस्यहरूले यसबारे सार्वजनिक टिप्पणी गरेका छैनन् ।
विगत १५ वर्षदेखि हिमानी ट्रष्टले बाढी–पहिरो, भूकम्प, भोकमरी र शिक्षा–स्वास्थ्य जस्ता क्षेत्रमा सामाजिक काम गर्दै आएको छ ।
सामाजिक सेवामा सक्रिय रहँदै आएकी हिमानी शाहले अहिलेसम्म राजनीतिक अभिव्यक्ति भने दिएकी छैनन् ।
‘यदि राजपरिवारकै सक्रियतामा दल गठन भयो भने जनताबीच विश्वास पुनः स्थापित हुने देखिन्छ,’ एक राजावादी निकट स्रोतले भन्यो ।
स्रोतका अनुसार यदि राजपरिवार र हिमानी ट्रष्टको सहयोगमा पार्टी गठन भएमा राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल, दुर्गा प्रसाईं समूह लगायतका राजावादी र हिन्दुराष्ट्रवादी समूहलाईसमेत समेट्ने तयारी छ ।























