काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियानको नेतृत्व गरेका नेताहरूले पार्टीका नेता डा. शेखर कोइरालासँग विशेष महाधिवेशनको नेतृत्व लिएर वातावरण बनाउन आग्रह गरेका छन् ।
कोइरालाको सम्पर्क कार्यालयमा आज सामूहिक रुपमा भेट गर्न गएको समूहसँग कोइरालाले विशेष महाधिवेशनमा सकारात्मक देखिएका छन् ।
‘नियमिति महाधिवेशन भएन भने विशेष महाधिवेशन गर्नुपर्छ भन्नेमा उहाँ सकारात्मक हुनुहुन्छ भन्ने पायौँ,’ बालुवाटार पुगेका नेता डिल्लीराम सुवेदीले शिलापत्रसँग भने ।
उनीहरू नेता कोइरालासँग ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको माग पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा प्रवेश पाउन नसक्नुको कारणबारे पनि गुनासो गरेका थिए ।
नेता कोइरालाले मंसिरभित्रै नियमित महाधिवेशनको विषय र विशेष महाधिवशेनमा जाने विषयमा आफूले समन्वय गरिराखेको जवाफ दिएका थिए ।
नेता सुवेदीका अनुसार कोइरालाले केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनबारे ‘दुइटा प्रस्ताव नआओस्’ भन्ने चाहना आफ्नो रहेको पनि बताए ।























