images
images
  • इरानले पहिलेभन्दा बलियो परमाणुस्थल बनाउने

    काठमाडौं– इरानी राष्ट्रपति मसूद पेजेश्कियानले आइतबार देशका परमाणु केन्द्रहरूको निरीक्षण गरेका छन् । त्यसक्रममा उनले ध्वस्त भवनलाई पहिलेभन्दा धेरै बलियो बनाउने घोषणा गरेका त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

    भवन भत्काइँदैमा पछि नहट्ने बताएका उनको आधिकारिक वेबसाइटमा पोस्ट गरिएको एक भिडियोमा उल्लेख छ । इरानी राष्ट्रपतिले परमाणु हतियार बनाउने आफ्नो देशको कुनै मनसाय नरहेको पनि दोहोर्‍याए ।

    इरानले सधैँ शान्तिपूर्ण उद्देश्यका निम्ति परमाणु कार्यक्रम चलाइरहेको उनले बताए । तर, पश्चिमा देशले यो कार्यक्रमको पछाडि उसको मनसाय परमाणु हतियार विकास गर्नु रहेको शंका गर्दै आएका छन् ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको जुनमा गरिएका हमलाबाट इरानको परमाणु कार्यक्रम पूर्ण रूपमा ध्वस्त भएको बताएका थिए । तर, कति क्षति भयो भन्ने अझै स्पष्ट हुन सकेको छैन । ट्रम्पले ती परमाणुस्थल फेरि सुरु गरिए नयाँ आक्रमणको आदेश दिने चेतावनी दिँदै आएका छन् ।

    इरानी राष्ट्रपतिको पछिल्लो घोषणा लामो समयदेखि इरान र अमेरिकाबीच पुलको काम गर्दै आएको ओमानले दुवै देशलाई फेरि वार्ता थाल्न अपिल गरेको समयमा गरिएको हो ।

    ओमानका विदेशमन्त्री बद्र अलबुसैदीले बहराइनमा आयोजित आईआईएसएस मनामा संवाद सम्मेलनमा भने, “हामी इरान र अमेरिकाबीच वार्ताको पुनरागमन चाहन्छौँ ।”

    आइतबार इरान सरकारका प्रवक्ता फातिमा मोहजेरानीले तेहरानलाई कूटनीति पुनर्स्थापनाका निम्ति सन्देश प्राप्त भएको बताए पनि यसबारे विस्तृत जानकारी दिइनन् ।

    यो वर्ष ओमानले इरान र अमेरिकाबीच पाँच चरणको वार्ता गराएको थियो । छैटौँ चरणको वार्ता हुनुभन्दा तीन दिनअघि इजरायलले इरानको परमाणु केन्द्रमा हमला गरेको थियो । १२ दिनसम्म चलेको उक्त सैन्य भिडन्तमा इजरायलले इरानका परमाणु र सैन्य केन्द्रसँगै केही आवासीय क्षेत्रलाई निसाना बनाएको थियो ।

    ती आक्रमणमा इरानका धेरै वरिष्ठ परमाणु ऊर्जा वैज्ञानिकको मृत्यु भएको थियो । जवाफमा इरानले पनि इजरायली सहरमा ब्यालिस्टिक मिसाइल प्रहार गरेको थियो । युद्धविरामपछि जुलाईमा इरानका विदेशमन्त्री अब्बास अरागचीले देशमा भएको क्षति गम्भीर र एकदम भयानक रहेको बताएको थिए ।

    प्रतिक्रिया दिनुहोस्

    images