नेकपा एकीकृत समाजवादीको दसौं महाधिवेशनको मुखमा घनश्याम भूसाललाई अध्यक्ष बनाउन सहमत भएका झलनाथ खनालले यसरी मारेका थिए, एकाएक एक सय ८० डिग्रीको फन्को
नेकपा (एकीकृत समाजवादी) को दसौँ राष्ट्रिय महाधिवेशन १६–२० असार २०८१ मा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुँदै थियो । महाधिवेशनमा एक हजार आठ सय ४९ प्रतिनिधिले भाग लिँदै थिए । महाधिवेशनको मुख्य नारा थियो, ‘दक्षिणपन्थी अवसरवादको विरोध गरौं । समाजवादको दिशामा अगाडि बढौं ।’ भलै यो नारा त सार्वजनिक खपतका लागि न थियो ।
भित्र–भित्र भने अध्यक्ष को बन्ने भन्ने ‘अवसरवाद’ कै तानातान भइरहेको थियो । एक हजार आठ सय ४९ प्रतिनिधि पनि देखाउने दाँत मात्र थिए । नेकपा एकीकृत समाजवादीको त्यस महाधिवेशनमा खास गरी अध्यक्षका प्रत्यासी थिए, तीन जना नेताहरु वहालवाला अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसाल ।
जसै महाधिवेशन नजिकिदै थियो, अध्यक्षको माथापचिसी बढ्दै थियो । अध्यक्षको विषय पेचिलो बन्दै गएपछि महाधिवेशन उद्घाटनकै साँझ १६ असारमा वरिष्ठ नेता घनेन्द्र बस्नेत, डा. विजय पौडेल, जीवनराम श्रेष्ठलगायतले आफू पक्षधर सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भूसालसहितको एउटा गोप्य बैठक राखे । बैठकमा माधवकुमार नेपाल कुनै पनि हालतमा अध्यक्ष बनाउन नहुने, खनाल र भूसाल मिलेर उनीहरुमध्ये एक जना अध्यक्ष बन्नु पर्ने प्रस्ताव राखिएको थियो ।
खनाल र भूसाल फागुन २०६५ मा बुटवलमा भएको नेकपा (एमाले) को आठौं महाधिवेशनबाट यसै पनि नजिक थिए । माधव नेपाल र केपी ओलीको गठबन्धनका बाबजुद त्यस महाधिवेशनबाट खनाल अध्यक्ष निर्वाचित भएका थिए भने हाल नेकपा एमालेका महासचिव शंकर पोखरेललाई परास्त गरी भूसाल उपमहासचिव चुनिएका थिए । जसै घनेन्द्र बस्नेत, डा. विजय पौडेल र जीवनराम श्रेष्ठहरुले खनाल र भूसालले एकले अर्कालाई सहयोग गरेर एक जना अध्यक्ष बन्नु पर्ने सुझाए । उनीहरु दुवै जना सहमत भए ।
त्यसबेला खनाल र भूसालको बैठक राख्न भूमिका खेलेका एक जना नेताका अनुसार उनीहरुको यो प्रस्तावपछि खनालले भनें, ‘भोलि बेलुकासम्म म माधव नेपालले मलाई सर्वसम्मत अध्यक्ष बनाउने सहमति लिएर आउँछु । त्यस्तो सहमति लिएर आएँ भने तपाईहरुले मलाई सहयोग गर्नु हुन्छ कि हुन्न ?’ त्यसबेला भूसाल, बस्नेत, पौडेल, श्रेष्ठहरुले खनाललाई भनेका थिए, ‘ल भोलि बेलुकीसम्म तपाई सर्वसम्मत अध्यक्ष बनाउने नेपालको सर्मथन लिएर आउनुस्, हामी दुई हात उठाएर तपाईलाई सर्मथन गर्छौ ।’
उनीहरुले खनाल समक्ष थप प्रस्ताव राखेका थिए, ‘तर, नेपालले भोलि बेलुकीसम्म तपाईलाई सर्वसम्मत छाडेनन् भने भूसाललाई अध्यक्षमा सर्मथन गर्नु हुन्छ कि हुन्न ?’ अर्का एक नेताका अनुसार पार्टीका पूर्वअध्यक्ष र पूर्वप्रधानमन्त्री भइसकेका खनालले उत्साहित हुँदै प्रतिवद्धता जनाएका थिए, नेपालले मलाई सर्वसम्मत छाडेनन् भने मैले अध्यक्षमा भूसालजीलाई सम्पूर्ण सहयोगका साथ सर्मथन गर्नेछु ।’
जानकारका भनाइमा कतिसम्म भने ‘भोलि बेलुकीसम्म मलाई नेपालले सर्वसम्मत अध्यक्ष छाडेनन् भने पर्सी बिहानै तपाईहरुले हामी पक्षधरहरुले भेला राख्नुहोस्, मैले त्यहाँबाट अध्यक्षमा हाम्रो प्रत्यासी घनश्याम भूसालजी हो भनेर सार्वजनिक घोषणा गर्नेछु ।’ खनालकै सुझाव अनुसार भूसाल पक्षधरले शंखमुलस्थित प्रेसिडेण्टल पार्टी प्यालेसमा भेला राख्ने तय पनि गरिसकेका थिए ।
तर भोलिपल्ट राति माधवकुमार नेपाल र उनकी पत्नी गायत्री आचार्य नेपाल डल्लुस्थित खनाल निवास पुगेर रवीलक्ष्मी चित्रकार (खनाल पत्नी) सहित लामो ‘भलाकुसारी’ गरे । खनाल–भूसालको बैठकमा सहभागी अर्का एक नेताले दिएको जानकारी अनुसार खनाल निवास डल्लुमा आ–आफ्ना पत्नीसहित नेताहरुले निकै नै भावनात्मक कुरा गरे । भावनात्मक कुरा गर्दा उनीहरु सबै जना एकआपसमा रोए । त्यसपछि खनाल पत्नी रवीलक्ष्मीले समेत आफ्ना पतिलाई यस पटक अध्यक्षमा नेपाललाई नै छाडिदिनुस् भनेर सुझाइन ।
यति मात्र होइन, त्यहाँ केही नगदको समेत लेनदेन भएको ती नेताको दाबी छ । खनालले कोटेश्वरको आफ्नो जग्गा नेपालले खाइदिएको आरोप केही वर्ष अघि नै सार्वजनिक गरिसकेका थिए । त्यही जग्गाको राफसाफ मिलाउने बहानामै सही, नेपालले खनाललाई केही थैली बुझाए । जानकारका भनाइमा आर्थिक मामिलामा खनाल पनि संर्कीण चित्तकै छन् ।
“भावनात्मक भलाकुसारी र ५० लाखभन्दा माथि नगदको लेनदेन भएपछि खनालले सर्वसम्मत रुपमा नेपाललाई नै अध्यक्ष छाडिदिए । उनी त्यसको भोलिपल्ट राख्नु भनेको भेलामा नआउने भए । त्यसपछि भेला स्थगित गर्नु पर्यो”, ती नेता भन्छन्, “खनालले एकाएक धोका दिएपछि नेपालसँग प्रतिस्पर्धा गर्ने हिम्मत हामीले गरेनौं । त्यसपछि महाधिवेशन हलबाट नेपाल अध्यक्ष र भूसाल पुनः महासचिव भएको घोषणा गरियो ।”
खनालले त्यो बेला सानो चित्त गरेर धोका नदिएको भए अहिले नेकपा (एकीकृत समाजवादी) नेकपा माओवादीमा विलय हुने विपत्ति आई नलाग्ने ती नेता बताउँछन् । भन्छन्, “घनश्याम भुसालजी अध्यक्ष हुनु भएको भए अहिले नेकपा (माओवादी केन्द्र) मा विलय हुने निर्णय गर्ने–गराउने थिएनन् । एकीकृत समाजवादीमा यो तहको विपत्ति आइलाग्ने थिएन । त्यसैले त्यस घटनाले कहिले काहीँ एक जना नेताले मात्र बाटो बिराउदा पनि ठूलो विपत्ति आइलाग्छ भन्ने गतिलो पाठ सिकाएको छ ।” रोचक के भने यसबेला खनाल–नेपाल सँगै छन् । उनीहरुले नेपाल नेतृत्वमा माओवादीमा विलय हुने निर्णय अस्वीकार गरिसकेका छन् ।
नाम उल्लेख गर्न नचाहने ती नेताका भनाइमा भूसाल नेकपा (एकिकृत समाजवादी) को अध्यक्ष भएका भए दुई थान मन्त्री र दुई वटा राजनीतिक नियुक्तिका लागि सरकारमा सहभागी हुने निर्णय हुने थिएन । एकीकृत समाजवादीले एमसिसिमा पक्षमा मत हाल्ने पनि थिएन । पार्टी बैचारिक वामपन्थी ध्रुविकरण र आन्दोलनको मोर्चामा जाने थियो । यस्तो हुँदा ‘कोर्स’ नै अर्कै ठाउँमा पुग्ने थियो ।
एकीकृत समाजवादीको महाधिवेशनले दुई सय ९९ सदस्यीय कार्य समिति र २१ सदस्यीय पदाधिकारीको चयन गर्ने निर्णय गरेको थियो । तर, अध्यक्ष नेपालले महाधिवेशनको जनादेशलाई समेत लत्याएर त्योभन्दा जम्बो केन्द्रीय समिति बनाएका थिए । अहिले निर्वाचन आयोगमा एकीकृत समाजवादीको तीन सय ३९ केन्द्रीय समिति दर्ता छ ।























