- २३ र २४ भदौको हत्या र विध्वंसका कारकतत्व हुन्, कलंकित नेता । उनीहरु फेरि म्याउँ गर्ने प्रयत्न गर्र्दैछन् ।
राष्ट्र पहिला, अहंकार पछि’, ‘देश दुख्दा मौन नबसौं, एक हौं’, ‘शहीदहरुको रगत नबिर्स ।’
७ कार्तिक शुक्रबार माइतीघर मण्डलामा जेनजी समूहका प्रदर्शनकारीहरुले बोकेको प्लेकार्डमा लेखिएका नाराहरु हुन् यी । ‘जेन–जेड युनाइटेड’ को नामबाट गरिएको प्रदर्शनमा शहीद परिवारका सदस्य र बालबालिकाहरु सहभागी थिए । जेनजी समूहहरुलाई एकताबद्ध हुन आह्वान र शहीदहरुको रगत नबिर्सन खबरदारी गर्दै माइतीघर मण्डलामा प्रदर्शन भएको थियो ।

त्यसको भोलिपल्ट ८ कार्तिक शनिबार पनि जेनजी समूहले माइतीघर मण्डलामा खबरदारी सभा गरे । त्यसदिन त ५६ जनाभन्दा बढी जेनजीहरुलाई सरकारले पक्राउ नै गर्यो । विभिन्न समूहमा छरिएका जेनजीहरुले त्यस यता पनि कहिले थिएटर, कहिले सभा हल, त कहिले कता, दिनहुँजसो यस्ता खबरदारीहरु गरिरहेका छन् ।
जेनजी समूहले यसरी खबरदारी गर्नुको कारण हो, नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायत शीर्ष दलका शीर्ष नेताहरु २३ र २४ भदौको जनादेश विरुद्ध उभिनु । भनिरहनै परेन, जेनजी आन्दोलनको पहिलो दिन २३ भदौमा मात्र विद्यालय पोसाकमै रहेकासहित २२ जना नवयुवाहरुको निर्मम हत्या भयो ।
त्यो आक्रोशबाट सृजित एवम् घुसपैठियाहरु समेतको घुलनबाट भोलिपल्टको विध्वंसमा जे जति क्षति भयो, गरियो, त्यो क्षतिप्रति आफूलाई नेपाली हुँ भन्नेहरु कोही मर्माहत भएका छैनन्, ‘यस्ता सिंहदरबार सैयौं बनाउन सकिन्छ’ भनेर कसैले ध्वाँस दिन्छ वा राष्ट्रिय धरोहरहरु जलाएकोमा, जलेकोमा गर्व गर्छ भने त्यो देशभक्त नेपाली हुनै सक्तैन । जसरी विध्वंसमा गर्व गर्नेहरुप्रति खेद व्यक्त र सख्त कानूनी कारबाही विलम्ब हुँदैछ, जेनजी आन्दोलनको मर्म र भावनालाई अनादर गर्ने नेताहरुको फाइँफुट्टी फेरि बढ्ने हो कि भन्ने चिन्ता उत्तिकै बढ्दो छ ।
चेत्न विलम्ब नहोस्
किनभने दलका शीर्ष नेताहरु जेनजी आन्दोलनको जनादेशविरुद्ध उठ्ने आँट गर्दैछन् । २३ भदौको जेनजी विद्रोह र २४ भदौको विध्वंस आफैँहरुबाट सृजित उकुसमुकुसको विष्फोटन हो भनेर कांग्रेस, एमाले, माओवादी केन्द्रका नेताहरुले बुझ्न जति विलम्ब गर्नेछन्, संकट झन् गहिरिदै जाने छ । कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुको कुशासनले नागरिकहरु यति आजित भइसकेका थिए कि दुर्गा प्रसाई, तारा बराल, आशिका तामाङहरु जस्ता सस्ता लोकप्रियतावादी एवम् घृणाका व्यापारीहरुका पछि भीड लाग्न थालेको थियो ।

दल र दलका नेताहरुलाई ‘तिमीहरु गलत दिशामा जाँदैछौ, लुटमाथि लुट काण्ड मच्चाइरहेका छौं, कुर्सी, शक्ति तथा राज्यदोहनका लागि जस्तोसुकै कुकृत्य गर्न पनि उद्दत भइरहेका छौ, यो पापको परकाष्ट रोक’ भनेर खबरदारी गर्नेहरुलाई उनीहरुले बदलाभावले हेर्ने गरेका थिए । फलतः भ्रष्टाचार र कुशासनको थुप्रोभित्र पुत्पुताइरहेको पुल्ठोले २३–२४ भदौमा सत्ताधारीको हैसियत देखाइदियो । पहिले दिनमा नवयुवकहरुको हत्यामा उद्दत उनीहरु दोस्रो दिन आफ्नै ज्यानको भिख माग्न बाध्य भए र केही दिन सेनाको ब्यारेकभित्र शरण दिन पुगे । तर, जसै दिनहरु बित्दै जाँदैछन्, नेताहरु जेनजी विद्रोहको जनादेश विरुद्ध खनिन थालेका छन् ।
त्यसको सुरुवात विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसबाटै गरौं । ८० वर्षको उमेरमा आन्दोलनकारीको निसानामा परेर टाउँकोमा १२ टाँका लगाउनु पर्ने वा एकै पटकमा २० औँ हजारको मेकअप गरिएको अनुहारमा त्यतिकै निला–निला निलडाम बसेका होइनन् भन्ने तथ्यको मनन शेरबहादुर, आरजुहरुले सायदै ह्दयबाट कहिल्यै पनि गर्दैनन् ।

किनभने जनतको पीडामा आफ्नो वैभव जोड्नु उनीहरुको दैनिकी भइसकेको थियो । कुकृत्यमा संलग्नता उनीहरुले बकस पाए समान सोचेका थिए । तर, कांग्रेसभित्रकै विवेकशील नेताहरुले सत्य स्वीकार गरिसकेका छन् । तिनै नेताहरुको दबाब स्वरुप हुनसक्छ, सभापति देउवाले कार्यवाहकको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएर आफू पत्नीसहित उपचारका लागि सिंगापुरतिर हानिएका छन् ।

रोचक संयोग के भने जुनदिन देउवा सिंगापुर हानिए, त्यसको दुई दिन अघि अर्थात ८ कार्तिकमा उनै कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सानेपास्थित सिद्धार्थ होटलमा कांग्रेस संस्थापन पक्षको ‘गोप्य’ भेला गरियो । भेला विशेष महाधिवशेनको मागलाई इन्कार गर्न र नियमित महाधिवेशन समेत एक वर्ष पर धकेल्ने योजनामा भएको स्रोतहरुको भनाइ छ ।

त्यही बुझेपछि कांग्रेसका महाधिवेशन प्रतिनिधि एवम् सञ्चारकर्मी इन्द्र रिजालले हिजो १० कार्तिक साँझ ७.३९ मा फेसबुकमा लेखे, ‘ओई, कार्यबाहक सभापति ज्यु ! सभापति सबै कांग्रेसीजनको हुनुपर्नेमा तपाईं अझै गुटको भेला गर्दै हिडनु हुन्छ ? के पारा हो ? ३५ वर्ष तपाईं कै वरिपरि कांग्रेस चल्यो, किसुनजीले क्रेनले तानेर आफ्नो हैसियत भन्दा माथि पुग्नु भो अनि देशमा जेनजी आन्दोलनको जन्म गराउनु भो । तर पनि चेत अझै खुलेन ? हाम्रो टाउको गनेर धेरै ल्याङ ल्याङ नगर्नु ल !’

कांग्रेसकै अर्का नेता विमलेन्द्र निधिले एउटा टेलिभिजनलाई ‘अहिले विशेष महाधिवेशन गर्नु भनेको चुनावलाई बाधा पार्नु हो । म्याद सकिएका प्रतिनिधिहरुका हस्ताक्षरले विशेष महाधिवेशन हुन सक्तैन’ भनेर अन्तर्वार्ता दिए ।
निधिको यो अन्तर्वार्ताको ‘स्क्रिन’ लाई सेयर गर्दै कांग्रेसकै अर्का नेता जुगल भुर्तेल (विद्यावारिधि) ले १० कार्तिककै साँझ ७.५२ मा फेसबुकमै लेखे, ‘हाम्रो पालाको ओरिजिनल ‘नेपोबेबी’ हो उहाँ । वीपीले टिको लगाइदिएर नेवी संघको सभापति भएदेखि पछाडि फर्केर हेर्नु परेको छैन । चुनाव हारियो भने पनि चिन्ता छैन । इच्छा अनुसार कि समानुपातिक सांसद कि राष्ट्रिय सभाको सदस्य उहाँहरूजस्तै वरिष्ठका लागि सुरक्षित राखिएकै छ । यति आनन्दको जिन्दगीलाई चुनौती दिने कुरा कसरी सैह्य हुन्छ ?’

धन्य, कांग्रेसभित्र इन्द्र रिजाल वा जुगल भुर्तेत जस्ता जुझारु कार्यकर्ताहरुले मात्र होइन, महामन्त्रीद्धय गगन थापा, विश्वप्रकाश शर्माहरुले समेत नेतृत्वलाई रुपान्तरित हुन दबाब दिँदैछन् । तर, एमालेभित्र मुर्दा शान्ति छ । त्यहाँ रुपान्तरण पक्षधरहरुका आवाजलाई निर्ममतापूर्वक दबाइँदै छ । उपेक्षा गरिदैछ ।
२९ असोज ०८२ मा बसेको नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठकमा एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भने– ‘सप्रिने मैले होइन, बाहिर बाहिर चिच्याउनेहरुले हो । अझै सप्रेन ओली भन्छन् । बिग्रेको हुनुप¥यो नि सप्रिन ।’

२ कार्तिकमा सम्पादकहरुसँगको भेटमा ओली थप आक्रोशित हुँदै थिए । विघटित संसदका बारेमा उनी भन्दै थिए, ‘संसद् पुनस्र्थापना… अर्को बाटै छैन । संसद् पुनस्र्थापना हुनैपर्छ । अधिकार प्राप्त नभएका व्यक्तिले सिफारिस गरेर विघटन गरिएको छ । पोहोर परार मैले विघटन गर्दाखेरि त निर्वाचन लोकतान्त्रिक हो भन्नुभएन त हौ साथीहरूले । प्रतिगमन भो कि प्रतिगमन भो भनेर उधुम थियो त ।..’

जबकि कुनै आन्दोलनको रापताप र माग बमोजिम होइन, आफ्नो व्यक्तिगत तुष्टिका लागि दुई–दुई पटक संसद विघटन गर्ने ओली नै हुन् । सचिवालय हुँदै एमाले केन्द्रीय समितिको ठूलो संख्याले अध्यक्षबाट ओलीको राजीनामा माग गरेको छ । तर, ओलीले अझै टारिरहेका छन् । शंकर पोखरेल, विष्णु रिमाल, प्रदीप ज्ञवालीहरु ओलीको असफलता र महत्वकांक्षामा हावा भरिरहेका छन् । ओलीको अहंकार र नालायकी नै २३, २४ भदौको हत्या र विध्वंस हो । तर, उनै ओली यो त मलाई केही पनि थाहा थिएन ? शैलीमा कुर्लदैछन् ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि रुपान्तरणको बहानामा चलाखी मात्र गरिरहेका छन् । धुर्त्याईँमा प्रचण्ड ओलीभन्दा कम छँदै छैनन् । उनले जेनजी आन्दोलनको मर्म अनुसार नेतृत्व हस्तान्तरण गर्न महाधिवेशनका लागि माओवादी केन्द्रीय कमिटी भङ्ग गरेको घोषणा त गरेका छन् । तर, त्यो नेतृत्वमा फेरि आफैँ ढलीमली गर्ने गुरुयोजना हो भनेर कसैले बुझ्दैन भने त्यसलाई ‘बिचरा’ मात्र भन्न सकिन्छ ।

महाधिवेशनको आवरणमा फेरि नेतृत्वमा निरन्तरता दिनकै लागि प्रचण्डले माओवादी परिवारकै सदस्य गठन गरिसकेका छन् । जसले पाँच वर्षलाई प्रचण्ड नै अध्यक्ष हुनु पर्ने माग अघि सारिसकेको छ । प्रचण्ड चलख्याई भनेकै यस्तै खेल हो ।

ओलीको प्रतिशोधमै सही, २३ र २४ भदौको आन्दोलनलाई घनिभूत बनाउन प्रचण्डले आफ्ना कार्यकर्ताहरुलाई सडकमा ठूलो मात्रामा घुसाएका थिए । विध्वंस मच्चाउन उनीहरुको निकै नै ठूलो भूमिका छ । जो छानबिन आयोगले सार्वजनिक गर्ला नै । निर्मम सत्य यही हो कि तोडफोड, ध्वसं, आगजनीका वैचारिक गुरु प्रचण्ड नै हुन् । जनयुद्धमा गाउँ विकास समिति, सरकारी कार्यालय, दूरसञ्चारलगायत जलाउने माओवादीले ध्वसंको जुन नजिर स्थापित गर्यो, त्यसैको सिको र जगमा टेकेर आजका यी कृत्यहरु भएका हुन् ।
०६२/६३ को जनआन्दोलनमाथिको दमन छानबिन गर्न बनेको कृष्णजंग रायमाझी नेतृत्वको आयोगले दुई–दुई वटा कसुरमा कसुरदार ठहर्याएको लोकमान सिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त सिफारिस गर्ने अरु कोही नभएर प्रचण्ड नै हुन् । सर्वोच्च अदालतको प्रधान न्यायाधीश अर्थात न्यायपालिका प्रमुख खिलराज रेग्मीलाई कार्यपालिकाको प्रमुख प्रधानमन्त्री सिफारिस गरेर न्यायपालिकालाई कार्यपालिकाको स्वाद चखाउने, न्यायपालिका बदनाम बनाउन भूमिका खेल्ने प्रचण्ड नै हुन् ।

यति मात्र होइन, हरेक नियुक्ति, ठेक्कापट्टामा भागवण्डा र कमिसन बाँडफाँड संस्कृति स्थापित गर्ने एक अगुवा प्रचण्ड नै हुन् । तसर्थ युवाहरुको वितृष्णा र आक्रोश दुवैका एक मुख्य कारकतत्व हुन्, प्रचण्ड । २३ र २४ भदौको विद्रोह, विध्वंसका लागि ओली र देउवाको भूमिका जति छ, प्रचण्डको भूमिका पनि त्यो भन्दा कम छैन । तर, अहिले प्रचण्ड ‘दुधको साक्षी बिरालो‘ वा ‘पानीमाथिको ओभानो’ हुन खोज्दैछन् ।
नत्र सकिने ?
ठूला दलका नेताहरु कांग्रेसमा देउवा, पूर्णबहादुर खड्का वा विमलेन्द्र निधि, एमालेमा ओली, शंकर पोखरेल तथा माओवादीमा प्रचण्ड, हरिबोल गजुरेल, वर्षमान पुनलगायतले समयको माग र युवा भावनालाई बुझ्न नसक्नु वा आनाकानी गर्नु जेनजी आन्दोलनको जनादेश विरुद्ध हुने ठान्छन् जानकारहरु । संविधानसभा सदस्य तथा नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य धर्मराज निरौलाका अनुसार दलका शीर्ष नेताहरुले जेनजी विद्रोहको जनादेशलाई किन स्वीकार गरिरहेका छैनन् भने उनीहरुले यसको जरा गहिरो छैन । यो विदेशीहरुले उचालि दिएको सुनियोजित हो । संगठनात्मक रुपमा हामी अहिले पनि बलियो छौं । जेनजीहरु हामी जति गहिरो गरी तल जनतामा गएका छैनन् भन्ने ठम्याइमा छन् ।

“तर, त्यो तर्क मनगढन्ते भइसकेको र आधार हाम्रै राम्रो छ भन्ने घमण्ड मात्र हो भन्ने उनीहरुले बुझ्न सकेकै छैनन् । त्यो आधारमा धमिरा लागेको उनीहरुको आँकलन नै गरेका छैनन् । त्यसैले जेनजीको जनादेश विरुद्ध उभिने घमण्ड गरिरहेका छन्”, निरौला भन्छन्, “उनीहरुको आधारमा धमिरा कसरी लाग्यो भने युवा र बैचारिक मान्छेहरु उनीहरुका विरुद्ध छन् । त्यहाँ भएकाहरु पनि मन कुड्याएर बसेका छन् । कांग्रेस, एमाले, माओवादीलगायत हरेक पार्टीभित्र दुई पटा पक्ष भएर निर्वाचन लडिरहेका छन् ।”
निरौला थप्छन्, “पार्टीहरुका हरेक ठाउँमा दुई वटा गुट छन् । आम निर्वाचनमा पनि एउटा गुटले अर्कोलाई सिध्याइरहेको छ । हरेक निर्वाचनमा अन्तरघात नभएको स्थान छैन । सबै दलले आफ्नो संगठनात्मक सिद्धान्त, वर्ग पक्षधरता, सामुहिक नेतृत्व प्रणाली छाडेका छन् । ती छन् त केवल देखाउनका लागि मात्र छन् । आन्दोलन ठिमाहा बनाएका छन् । व्यवहार महासामन्तको जस्तो छ । यस्तो हुन बित्तिकै बुर्जुवाहरुभन्दा धेरै मतिहीन भएका छन् । त्यसैले यिनीहरुलाई जेनजीहरुले सबक सिकाएका हुन् । अब पनि सबक सिकेनन् भने सिद्धिन्छन् ।” निरौला कम्युनिष्ट आन्दोलनलाई पुर्नगठन गर्ने अभियानमा छन् ।
जेनजी आन्दोलनको नेतृत्वकर्ता रक्षा बम शीर्ष दलका नेताहरुले परिवर्तनको चाहनालाई बुझ्न आग्रह गर्छिन । “पुराना राजनीतिक दलहरुलाई म के भन्न चाहन्छु भने तपाईहरुले जेनजीले चाहे अनुसारको परिवर्तनको जनादेश बुझिदिनुहोस्”, उनी भन्छिन्, “अझै पनि जेनजी आन्दोलनको जनादेशलाई अस्वीकार गरेर अघि बढ्न चाहनुहुन्छ भने तपाईहरुलाई समयले सधैँका लागि बढार्ने छ ।”

शीर्ष दलका शीर्ष नेताहरु सुध्रने छाँट नदेखेरै हुन सक्छ, अस्ति ३ कार्तिक बिहान ६.५१ मै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई (विद्यावारिधि) बेलायतका चर्चित पत्रकार टम वर्गिजले नेपालको टेलिकमको घोटालामाथि लेखेको पुस्तक कुकुल्याण्ड समीक्षा गर्दै फेसबुकमा पोखिएका छन्, ‘जेन–जी राजनीतिक भूकम्पको पृष्ठभूमिमा कमसेकम सबै तहका माओवादी साथीहरूले यो चर्चित ऋगअपययबिलम पुस्तक एकचोटि छातीमा हात राखेर पढ्दा राम्रै होला ! शान्ति–प्रक्रियामा आएपछि र पटकपटक सत्ताको साझेदार बनेपछि त्यो ऐतिहासिक क्रान्तिकारी आन्दोलनमा कसरी भित्रैबाट किरा लागेर पतनको दिशामा गएको थियो भन्ने तीतो यथार्थ यसले उजागर गर्छ ।

परम्परागत कम्युनिष्ट आन्दोलनको सहज प्रवृत्ति ’कन्स्पिरेसी थ्योरी’ अनुसार यसलाई ‘महान् नेता’ विरूद्ध ‘साम्राज्यवादी षड्यन्त्र’ भनेर दुत्कार्ने हो भने संगसंगै बेलायतका वर्तमान राजा चाल्र्स लगायतका अन्य देशका राष्ट्रध्यक्षहरू समेतको यस्ता काण्डमा संलग्नताको पुस्तकमा चर्चालाई के भन्ने होला ? कणहरूले सोच्नैपर्ने हुन्छ !’


माधव बस्नेत 



















प्रतिक्रिया दिनुहोस्