काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकताको संवादबाट टाढिएको छ ।
समाजवादी मोर्चामा रहेका दलहरूबीच एकताको प्रयास भइराखेका बेला विप्लव नेतृत्वको नेकपाले आफ्नै ढंगले संघर्षका कार्यक्रम अगाडि बढाएको छ ।
नेकपाले यही कात्तिक २० गते काठमाडौंमा बृहत् आमसभामा राखेको छ ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत विप्लवले स्वाधीनता र समाजवादका पक्षमा उभिन आह्वान नै गरेका छन् ।
नेपाललाई अरूले नभई आफैंले फेर्ने हो भन्दै उनले जब भ्रष्ट, कमिसनखोर, तस्कर समाप्त हुन्छन् तब देशले आत्मसम्मानसहित उन्नति हासिल गर्ने उनको भनाइ छ ।
‘नेपाललाई अरूले होइन हामी आफैंले फेर्ने हो । अरूले होइन नेपालीले नै चलाउने हो । जब भ्रष्ट, कमिसनखोर, तस्कर, दलाल, परजीवी समाप्त हुनेछन् । देशले आत्मसम्मानसहित उन्नति हासिल गर्नेछ’ विप्लवले भनेका छन्, ‘स्वाधीनता र समाजवादका पक्षमा उभिन कात्तिक २० गते काठमाडौंमा भेटौं साथीहरू ।’
नेकपाका नेता भरत सी माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग वैचारिक मतभेद कायमै रहेकाले एकताको संवादमा आफूहरू नरहेको बताउँछन् ।
नेता सीका अनुसार माओवादी र समाजवादी सुशीला कार्की नेतृत्वको सरकारको निरन्तरतामा चुनाव चाहिरहेका छन् ।
नेकपा भने सर्वपक्षीय सरकार भनिरहेको छ । सर्वपक्षीय सरकारपछि मात्रै चुनावको विश्वसनीय आधार बन्छ भन्ने मत राखिरहेको छ ।
यहाँनेर वैचारिक र राजनीतिक मतभेद देखिएको भन्दै नेता सीले यस्तो बताएका हुन् ।
तथापि विचार मिल्नेसँग एकता गर्ने विषयलाई पार्टीले बन्द नगरेको नेकपाका नेता बताउँछन् ।
तत्काललाई माओवादी केन्द्र र एकीकृत समाजवाद मिलून् भनेर शुभकामना दिएर आफूहरू पार्टी केन्द्रित गतिविधिमा लागेको नेता सीको उनको भनाइ छ ।
उनी भन्छन्, ‘माओवादी केन्द्र र समाजवादी चाहिँ एकतातिर जान खोजेको देखिन्छ । त्यो राम्रै हो शुभकामना दिएका हौं ।’
अर्थात् नेताहरूका अनुसार विप्लव नेतृत्वको नेकपा एकताको संवादबाट टाढिएको छ ।
समाजवादी मोर्चामा रहेका दलहरूबीच एकताको प्रयास भइराखेका बेला विप्लव नेतृत्वको पार्टी एकताको संवादबाट टाढिएको हो ।
एकता संवादबाट टाढिएर उसले आफ्नै ढंगले संघर्षका कार्यक्रम अगाडि बढाएको छ ।
विप्लव र कलमले अड्काए कम्युनिस्ट एकता
समाजवादी मोर्चा आबद्ध दलहरूबीच एकतामार्फत नयाँ समाजवादी ध्रुवीकरणको सन्देश दिने तयारीस्वरूप चर्चा चलेको समाजवादी एकता छेवैमा पुगेर अड्किएको छ ।
मोर्चा आबद्ध नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपालगायतको एकता प्रक्रिया अन्तिम चरणमा पुगेर अलमलिएको छ ।
गत ३ असोजको संविधान दिवसका दिन नै एकता घोषणा गर्ने तयारीमा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादीको योजना जेनजी आन्दोलनका कारण प्रभावित भएको थियो ।
जेनजी आन्दोलनको समीक्षा गर्दै दुई पार्टीको बैठकले कार्यदल बनाएर नै एकता प्रक्रियालाई अन्तिम रूप दिँदै ३० कात्तिकभित्र एकता घोषणा गर्ने चर्चा गरे पनि आन्तरिक मतभेदका कारण छेवैमा पुगेको एकता प्रक्रिया प्रभावित भएको छ ।
एकीकृत समाजवादी र माओवादीले यसरी फटाफट काम अगाडि बढाएपछि समाजवादी मोर्चाको घटक दल नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भने आफूहरू यस प्रक्रियामा नभएको बताइरहेको छ ।
विप्लव नेतृत्वको नेकपाले माओवादीभित्रको एउटा समूह र एकीकृत समाजवादीको एउटा समूहबीच समानान्तर वार्ता गरिरहेको छ ।
विप्लवले माओवादी केन्द्र र एकीकृत समाजवादीसँग एकता प्रक्रियाको छलफल गर्दै अलमल्याएर उनीहरूभित्र फुट सिर्जना गरी आफ्नो बार्गेनिङ पावर मात्रै बढाएको माओवादी केन्द्रको विघटित केन्द्रीय कमिटीका एक पदाधिकारीले बताए ।
विप्लवले एकीकृत पार्टीकै अध्यक्ष मागेपछि त्यसमा आफूहरू सहमत नहुने भएकाले एकीकृत समाजवादी र माओवादीबीच भने एकता करिब टुंगिएको ती नेताले जानकारी दिए ।
कम्युनिस्ट केन्द्रको अवधारणाअनुसार छलफल भए पनि तत्काल सहमति भएकाबीच छिट्टै एकता गरेर सन्देश दिने तयारी गरिरहेको माओवादी नेताले जानकारी दिए ।
माओवादी केन्द्र, एकीकृत समाजवादी, मसाललगायतका दलसँग छलफल भएको बताउँदै ती माओवादी नेताले भने, ‘यतिबेला नेताको पद वा व्यवस्थापनको विषयभन्दा पनि कम्युनिस्टबीच ध्रुवीकरण र एकताको सन्देश जरुरी छ ।’
समाजवादीमा विद्रोहको चिन्ता
नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीबीच एकता हुने हल्ला चलेसँगै नेकपा एकीकृत समाजवादीभित्रको एउटा समूहले विद्रोहको तयारी गरेको छ ।
सम्मानित नेता झलनाथ खनालले एकताको वातावरण नबनेको र आफूहरूको स्पष्ट भिन्न मत रहेको बताएसँगै काठमाडौमा रहेका केही नेताले विद्रोहको तयारी गरेको बुझिएको छ ।
पार्टी एकता घोषणा भयो भने माधवकुमार नेपाललगायत एकतामा गएकाहरूलाई कारबाहीको विज्ञप्ती निकालेर एकीकृत समाजवादीलाई पुनर्गठन गर्ने तयारी सो समूहको छ ।
एकीकृत समाजवादीमा अध्यक्ष नेपालनिकट समूहले १२ कात्तिकको बैठकबाट एकताका लागि सम्पूर्ण अधिकार अध्यक्षमा प्रत्यायोजन गरिने दाबी गरेको छ ।
‘एक दुई जनाको विरोध उनीहरूको पदका लागि हो, त्यसलाई सम्बोधन गरिदिने विषयमा अध्यक्षले चासो राख्नुभएको छ,’ अध्यक्ष नेपालनिकट एक नेताले भने, ‘धेरै नेता कार्यकर्ता जता भए पनि एकता होस् भन्ने चाहन्छन्, यतिबेला हामी एमालेसँग भन्दा वाम आन्दोलनको स्पिरिटअनुसार माओवादीसँग एकता हुन्छ भन्ने निचोडमा छौं ।’


विश्व खबर 



















प्रतिक्रिया दिनुहोस्