images
images
  • अमेरिकी विदेश मन्त्रालय भन्छ- नेपाललाई कोभ्याक्समार्फत यथाशीघ्र भ्याक्सिन पठाउन समन्वय गरेका छौं

    काठमाडौं । नेपाललाई भ्याक्सिन प्रदान गर्नका लागि कोभ्याक्ससँगको समन्वयमा सकेसम्म छिटो अगाडि बढ्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । तर डोजको संख्या र मितिबारे टुंगो नलागिसकेको पनि उसले जनाएको छ ।

    नेपालमा आगामी साता अमेरिकाले प्रदान गरेको जोन्सन एण्ड जोन्सन भ्याक्सिन कोभ्याक्समार्फत १५ लाख डोज नेपाललाई प्राप्त हुनेबारे समाचार आइरहेको सन्दर्भमा कोभ्याक्समार्फत अमेरिकी सहयोगको कतिडोज, कुन भ्याक्सिन र कहिले नेपाललाई उपलब्ध हुनेबारे टुंगो नलागिसकेको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन् ।

    अमेरिकाले खोप दिने देशहरूको सूचीमा नेपाल छ । तर हामीसँग अहिले यसबारे सार्वजसनक गर्नका लागि थप निदृष्ट जानकारी छैन।’प्रवक्ताले भने – ‘ ।

    आगामी दिन र हप्ताहरुमा बाइडेन प्रशासनले नेपाललाई भ्याक्सिन प्रदान गर्नका लागि कोभ्याक्ससँगको समन्वयमा सकेसम्म छिटो अगाडि बढ्ने पनि प्रवक्ताले बताए । भ्याक्सिनका डोजहरुको सुरक्षित हस्तान्तरण सुनिश्चित गर्नका लागि नियामक आवश्यकता र लजिस्टिक विवरणहरुका सन्दर्भमा काम गरिरहेको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले जानकारी दिए ।

    यसैबीच अमेरिकी दूतावास काठमाडौंकी प्रवक्ता अन्ना रिची एलेनले दिएको जानकारी अनुशार अमेरिकी सरकारले भ्याक्सिनका डोजहरु नेपाललाई उपलब्ध गराउनका लागि कोभ्याक्स र नेपाल सरकारसँग मिलेर काम गरिरहेको छ । तर प्रकृया कहाँ पुगेको छ भन्नेबारे प्रवक्ता एलेनबाट कुनै जानकारी प्राप्त भएको छैन ।

    यता नेपालको स्वास्थ्य मन्त्रालयले नेपाल औषधि व्यवस्था विभागलाई लेखेको पत्रमा कोभ्याक्समार्फत जोन्सन एण्ड जोन्सनको १५ लाख डोज भ्याक्सिन आउने उल्लेख गरेको समाचार नेपालका संचारमाध्यमहरुमा आएको थियो । मन्त्रालयको पत्रमा उल्लेख गरिए अनुसार अमेरिकाले प्रदान गर्ने १५ लाख ३४ हजार ८ सय ५० डोज जोन्सन एण्ड जोन्सन भ्याक्सिन कोभ्याक्स सुविधामार्फत नेपाल आउन लागेको जनाइएको छ ।

    हालसम्म नेपालमा अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको कोभिसिल्ड र चिनियाँ कम्पनी सिनोफार्मले विकास गरेको भेरोसेल नामक खोप मात्रै लगाइएको छ । यी दुबै खोज दुईदुई डोज लगाउनुपर्छ । तर जोन्सन एण्ड जोन्सनको खोप भने एकडोजमात्र लगाए पुग्ने खोप हो ।

    यसैबीच हाल अमेरिकामा स्वीकृत भ्याक्सिनहरुमध्ये जोन्सन एण्ड जोन्सनको भ्याक्सिनमात्र भण्डारण र वितरण गर्नसक्ने क्षमता नेपालसँग रहेको छ । मोडेर्ना र फाइजरको भ्याक्सिन भण्डारण र वितरण गर्नमा समस्या रहेको छ ।

    अमेरिकामा स्वीकृत मोडेर्ना वा फाइजर भ्याक्सिनको नेपालमा भण्डारणमा समस्या हुने देखिएको छ । फाइजर भ्याक्सिनमा उल्लेख गरिएको म्यादसम्म भण्डारण गर्नका लागि यो भ्याक्सिनलाई माइनस ६० डिग्रीदेखि माइनस ८० डिग्री सेल्सियस तापक्रमभित्रको अत्यन्तै चिसो फ्रिजरमा राख्नुपर्छ । नेपालमा यति चिसो तापक्रममा भण्डारण गर्न मिल्ने कुनै व्यवस्था छैन । यो भ्याक्सिन माइनस ७० डिग्री सेल्सियसमा राख्न सिफारिस गरिएको छ ।

    नेपालमा माइनस २० डिग्री सेल्सियसभन्दा कम तापक्रममा भण्डारण गर्न सकिने कुनै व्यवस्था नभएको नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    यसैगरि अमेरिकाले पाकिस्तानलाई २५ लाख डोज भ्याक्सिन पठाएको छ भने पेरुलाई २० लाख डोज भ्याक्सिन पठाएको छ । तर नेपाललाई कोभ्याक्समार्फत पठाउने भनेको भ्याक्सिन भने अमेरिकाले अझै पठाएको छैन । नेपाल जस्ता मुलुकमा भ्याक्सिन पठाउन जटिल परिचालन चुनौती खडा रहेको अमेरिकाले बताएको छ ।

    जसका कारण नेपाल लगायतका मुलुकले अमेरिकाबाट भ्याक्सिन प्राप्त गर्न अझै केहीसाता कुनुपर्ने अवस्था देखिएको छ । अमेरिकी विदेश मन्त्रालयको ब्यूरो अफ साउथ एण्ड सेन्ट्रल एसियन अफेयर्सकी प्रेस अफिसर ग्रेस चुङले खसोखासलाई दिएको जानकारी अनुशार नियामक आवश्यकताहरु र लजिस्टिक विवरणहरुमार्फत सुरक्षित तरिकाले भ्याक्सिनका डोजहरुको स्थानान्तरण सुनिश्चित गर्न कोभ्याक्स र सम्बन्धिन देशसँगको समन्वयमा आगामी साताहरुमा भ्याक्सिन पठाउन अमेरिकी सरकारले सकेसम्म चाँडो कदम चाल्नेछ ।

    मेडिकल एजेन्सीहरुले सुरक्षा र नियामक सुचनाहरु शेयर भएको सुनिश्चित गर्न समन्वय गरिरहेको, आपूर्ति टिमले निडल, सिरिन्ज र अल्कोहोल प्याडहरु जुटाइरहेको, ट्रान्सपोर्टेशन टिमले उचित तापक्रममा भण्डारणको व्यवस्था सुनिश्चित गर्ने, विच्छेद हुन नदिने कुरा सुनिश्चित गरिरहेको र भ्याक्सिन सम्बन्धित देशमा पुगिसकेपछि भन्सारमा कुनै समस्या नहुने सुनिश्चित गर्नका लागि काम गरिरहेको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताको भनाई छ । भ्याक्सिनका डोजहरु सम्बन्धित कानून बमोजिम वितरण गरिने सुनिश्चित गर्न कानूनी सम्झौतासमेत आवश्यक पर्ने र त्यसका लागि काम भइरहेको प्रवक्ताको भनाई छ ।

    नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता पौडेलले विमानस्थलमा भ्याक्सिन आइसकेपछि त्यसलाई विना कुनै झन्झट भण्डारणका लागि ‘केन्द्रीय भ्याक्सिन भण्डारण टेकु’ लैजाने प्रबन्ध रहेको जानकारी दिए । विगतमा पनि त्यसरी नै भ्याक्सिन लगिएको र विमानस्थलबाट भ्याक्सिन लैजादा भन्सारमा कुनै समस्या नहुने उनको भनाई छ ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images