काठमाडौं– एसियाली जुनियर, क्याडेट तथा पारा तेक्वान्दो च्याम्पियनसिप (जी४) मा सहभागी हुन पाँच खेलाडीसहित सात सदस्यीय नेपाली टोली मंगलबार मलेसियाको सरावक जाने भएको छ ।
जुलाई २४ देखि सुरु भएको प्रतियोगिता अगस्ट १ तारिखसम्म सञ्चालन हुनेछ । पाराको ग्योरोगीतर्फको खेल अगस्ट १ तारिखमा हुनेछ ।
पाँचै खेलाडीले के–४४ क्याटगोरीअन्तर्गत विभिन्न तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्नेछन् । पुरुष ५८ केजीमुनि ओलम्पियन भरतसिंह महता तथा ६३ केजीमुनि अमिर भ्लोनले प्रतिस्पर्धा गर्नेछन् ।
महिला ५७ केजीमुनि पेरिस पारालिम्पिक तथा चौथो एसियाली पारा खेलकुदकी ऐतिहासिक कांस्य विजेता पलेशा गोबर्धन तथा ४७ केजीमुनि कामना प्रसाईं र रेणु तामाङले खेल्नेछन् ।
कामना र रेणुको यो ‘डेब्यू’ अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ । चीनको सांघाईमा अध्ययन गरिरहेकी पलेशा त्यतैबाट मलेसिया जानेछिन् ।
व्यवस्थापकमा राखेपका सदस्य रामचन्द्र श्रेष्ठ तथा प्रशिक्षकमा कविराज नेगी लामा छन् । नेपालले सुरुको संस्करणदेखि नियमितरूपमा प्रतियोगितामा सहभागी हुँदै आएको छ ।
यस अवधिमा नेपालले एक रजत र पाँच गरी ६ पदक जितेको छ ।
रञ्जना धामीले रजत र कांस्य जितेकी छन् । पलेशा, अरुण शाक्य, सीता भण्डारी र रोहितहाङ राईले कांस्य प्राप्त गरेका छन् ।
प्रतियोगितामा ४५ राष्ट्रका १५० खेलाडीको सहभागिता रहने प्रशिक्षक लामाले जानकारी दिए ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टंकलाल घिसिङ, राखेपका सदस्य हिमालकुमार श्रेष्ठ र राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे ।


विश्व खबर 


















