अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफ्नाे सामाजिक सञ्जाल फेसबुककाे ‘कमेन्ट सेक्सन’ बन्द गरेकाे छ ।
साेमबार बंगलादेशमा सम्पन्न साफ यू- २० महिला च्याम्पियनसीपमा नेपाली टाेली बंगलादेशसँग ४-० गाेल अन्तरले पराजित भएलगत्तै एन्फाले फेसबुकमा कमेन्ट गर्न नमिल्ने बनाएकाे हाे ।
नेपाली टाेली लगातार फाइनल तथा महत्वपूर्ण खेलहरूमा पराजित हुने क्रम जारी रहँदा खासगरी एन्फा पदाधिकारीहरूलाई सामाजिक सञ्जालहरूमा गाली आउने गरेकाे छ । साेमबार पनि त्यही गालीबाट बँच्न एन्फाले साे निर्णय गरेकाे हुने सक्ने अनुमान गरिएकाे छ ।
एन्फाकाे याे निर्णयप्रति सामाजिक सञ्जालहरूमा आलाेचना भइरहेकाे छ । सामाजिक सञ्जाल प्रयाेगकर्ता तथा खेलप्रेमीहरूकाे आलाेचना एन्फा पदाधिकारीहरूप्रति लक्षित छन् ।
एन्फामा सधैं भइरहने विभिन्न विवादहरूलाई लिएर निराश भएका खेलप्रेमीहरूले पछिल्लाे समय सामाजिक सञ्जालमा व्यापक असन्तुष्टि पाेखिरहेका छन् ।
हालै एएफसी महिला एसियन कपकाे छनाेट खेलमा नेपाल उज्बेकिस्तानसँग पराजित भएपछि एन्फाभित्र भएका आराेपप्रत्याराेप सामाजिक सञ्जालमा छरपस्ट भएका थिए । ती आराेपप्रत्याराेहरू सामाजिक सञ्जालमा पाेखिँदा खेलप्रेमीहरू असन्तुष्ट देखिएका छन् ।


विश्व खबर 


















