images
images
  • कराते खेलाडी अकबरे खुर्सानी खेतीमा

    म्याग्दीको धवलागिरि गाउँपालिकामा मल्चिङ प्रविधिको प्रयोग गरेर पहिलोपटक अकबरे जातको खुर्सानी खेती भएको छ । धवलागिरि– ७ शिवाङको धौलागिरि कृषि तथा पशुपक्षी फार्मका सञ्चालक ओमराज मगरले छ रोपनी बारीमा खुर्सानी खेती गरेका हुन् ।

    ‘खुर्सानी लगाएको ठाउँमा झार पलाउन नदिनका लागि बोट उम्रने बाहेकका जमिनमा प्लास्टिकले छोप्ने मल्चिङ प्रविधि अपनाएको हो,’ उनले भने, ‘प्लास्टिकले झार उम्रन नदिने र बिरुवाले पर्याप्त पोषकतत्व पाएर उत्पादन राम्रो हुने भएकाले तरकारी खेतीमा यस्तो प्रविधिको प्रभावकारी भएको छ ।’

    समुद्री सतहदेखि दुई हजार मिटर उचाइमा अवस्थित शिवाङमा यसअघि दुई वर्ष परीक्षण गरेर यसपालीदेखि खुर्सानीको व्यावसायिक खेती सुरु गरेको उनले बताए । खुर्सानी खेतीका लागि उनले दुई लाख ५० हजार रूपैयाँ लगानी गरेका छन् ।

    धवलागिरिमा यसअघि व्यावसायिक रुपमा अकबरे जातको खुर्सानी खेती नभएको गाउँपालिकाको कृषि शाखाका प्राविधिक अमृत थापाले बताए । घरायसी प्रयोजनको लागि मात्र खुर्सानी खेती हुँदै आएको थियो । बजारको सम्भावना भएकाले अकबरे खुर्सानी खेती गरेको किसान मगरले बताए ।

    स्थानीय बजारमा प्रतिकिलो दुई सय ५० रूपैयाँका दरले अकबरे खुर्सानी बिक्री हुन्छ । म्याग्दीमा हाल तराई र पूर्वी पहाडी जिल्लाबाट अकबरे खुर्सानी आयात हुने गर्छ । दिउँसो २२ देखि २५ डिग्री सेल्सियस र राति १५ देखि २० डिग्री सेल्सियस तापक्रम हुने उच्च पहाड र तराईको भूगोलमा अकबरे खुर्सानी खेती गर्न सकिन्छ ।

    तीस वर्षीय मगर वैदेशिक रोजगार र परम्परागत खेतीको विकल्पमा खुर्सानीका साथै किबीखेती, कुखुरा र बाख्रापालन गरेर स्वरोजगार बनेका छन् । मगर कराते खेलका खेलाडी हुन् ।

    उनको बगैँचामा ७० किबीका बोट छन् । गत वर्ष तीन हजार किलोग्राम किबी बिक्री गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images