काठमाडौँ । मधेश प्रदेशका जिल्लाहरूमा यतिबेला भीषण गर्मी र खडेरीका कारण खानेपानीको चरम अभाव देखिएको छ । वीरगञ्ज, लहान, राजविराजलगायतका शहर तथा गाउँबस्तीमा इनार, चापाकल सुक्न थालेपछि स्थानीय तह र प्रदेश सरकार संयुक्त रूपमा वारुणयन्त्र र ट्यांकरमार्फत पानी वितरण गर्न थालेका छन् ।
सबैभन्दा बढी संकट वीरगञ्जमा देखिएको छ । वीरगञ्ज महानगरले दैनिक करिब ४ लाख लिटर पानी वितरण गरिरहेको छ भने नेपाली सेनाले प्रदेश सरकारले उपलब्ध गराएको वारुणयन्त्र प्रयोग गरी थप १ लाख लिटर पानी वितरण गरिरहेको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।
महानगरप्रमुख राजेशमान सिंहका अनुसार दुईवटा वारुणयन्त्र, एक ट्याक्टरसहित आठवटा साधनबाट पानी वितरण भइरहेको छ । सिरहाको लहान नगरपालिका–१ र २ स्थित दलित बस्तीमा पनि डिभिजन वन कार्यालयले ट्याक्टर ट्यांकीमार्फत पानी वितरण भइरहेको छ । यस्तै, सप्तरीका ग्रामिण क्षेत्रमा पनि प्रदेश सरकारबाट पठाइएका तीन वारुणयन्त्र र वन कार्यालयको ट्याक्टर प्रयोग गरी पानी वितरण भइरहेको छ ।
मधेश प्रदेशका अधिकांश जिल्लामा हाल पानी अभाव गहिरिँदै गएको छ । विज्ञहरूका अनुसार यो संकटको प्रमुख कारण लामो समयदेखि वर्षा नहुनु र चुरे क्षेत्रको दोहन हो । चुरेविज्ञ डा. विजय सिंह दनुवार भन्छन्, ’चुरे क्षेत्र मधेशको जीवनरेखा हो । यसको दोहनले भू–जल तह घटेको छ, जुन अहिलेको संकटको जड हो ।’ उनले चुरे संरक्षणलाई तत्काल प्राथमिकता दिनुपर्नेमा जोड दिए । खानेपानी अभावको तत्काल समाधानका लागि स्थानीय, प्रदेश र संघ सरकारबीच सहकार्य अपरिहार्य भएको विज्ञको सुझाव छ ।
मधेशमा खाने पानी मात्रै होइन आकाशबाट पानी नआउँदा असार सकिए पनि रोपाइँसमेत हुन सकेको छैन । धानका बिउ ब्याडमै सुक्न थालेका छन् ।























