गएराति पर्वतमा पहिरोले घर पुरिँदा पतिपत्नी बेपत्ता भएका छन्। घटनामा उनीहरूकी बुहारीले भने भागेर ज्यान जोगाएकी छन्।
मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा गएराति आएको पहिरोले घर पुरिँदा स्थानीय ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीया विष्णुमती बेपत्ता भएकी जिल्ल प्रहरी कार्यालय पर्वतका इन्सपेक्टर रामप्रसाद सापकोटाले जानकारी दिए।
‘पहिरोले राति घर पुरिँदा पतिपत्नी बेपत्ता भएका र बुहारी ३२ वर्षीया पवित्राले भागेर ज्यान बचाएकी छिन्,’ इन्सपेक्टर सापकोटाले भने, ‘हाम्रो टोली उद्धारको लागि घटनास्थलतिर जाँदैछ। सबै विवरण आइसकेकाे छैन।’
रातिको घटना भए पनि आज बिहान मात्रै प्रहरीलाई जानकारी आएको उनले बताए।
बाढी पहिरोको कारण घटनास्थलसम्म पुग्ने सडक अवरुद्ध भएकाले अहिले प्रहरी पैदलै घटनास्थलतिर जाँदैछ। घटनास्थलमा पुग्न झण्डै तीन घण्टा लाग्ने सापकोटाले बताए























