images
images
  • असारमा किन भएन भारी वर्षा ?

    काठमाडौँ । यस वर्ष औसत समयभन्दा १५ दिन अगावै मनसुन भित्रियो तर असारको अन्तिम भइसक्दा पनि पर्याप्त पानी परेको छैन । धान रोप्न चाहिने जति पानी नपर्दा विशेष गरी मधेसका जिल्लाहरूमा आधा पनि रोपाइँ हुन सकेको छैन भने केही ठाउँमा त खानेपानीकै हाहाकार मच्चिएको छ । त्यसो त यसपटक औसतभन्दा धेरै वर्षा हुने पूर्वानुमान मौसमविद्हरूले गर्दै आएका छन् तर नेपालमा अहिले नै ठूलो पानी पर्ने सम्भावना भने नदेखिएको जलवायु परिवर्तन व्यवस्थापनसम्बन्धी विज्ञ डा. धर्मराज उप्रेती बताउँछन् । मनसुनी वायुमा जलवाष्पयुक्त वायु मिसिएन भने वर्षा हुँदैन ।

    उनका अनुसार जलवाष्पयुक्त वायु आउने प्रणाली भित्रिँदा मनसुन धकेलिएर नेपालसम्म आइपुग्यो र कमजोर भयो । बीचमा लामो समयसम्म ग्याप भएको यो प्रणाली अहिले फेरि (त्यति बलियो त होइन) दुवै सागरमा विकसित हुँदैछ, जसले गर्दा अबको तीन–चार दिनमा पानी पर्ने सम्भावना देखिएको डा. उप्रेतीले बताए त।

    ‘मनसुनी न्यूनचापीय रेखा देशको पश्चिम भेगमा सरदरभन्दा दक्षिणतिर छ, पूर्वमा विहार र झारखण्डको नजिक छ, जबसम्म त्यो हाम्रो हिमालको फेदीमा आउँदैन, नेपालमा ठूलो वर्षा हुँदैन’, डा. उप्रेतीले भने, ‘अझै पनि पश्चिम भन्दा पूर्वी तराईमा रोपाइँ गर्ने खालको वर्षा हुन गाह्रै छ तर अलिअलि त परिरहे पनि ठूलो पानीका लागि केही समय पर्खिन पर्ने अवस्था देखिन्छ ।’ पछिल्ला वर्षहरूमा पृथ्वीको तापक्रम पनि बढिरहेको छ। हरेक वर्ष तापक्रम वृद्धिले रेकर्ड ब्रेक गर्दै आएको छ, जुन यस वर्ष पनि कायम रहने पूर्वानुमान छ ।

    पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनको असर बढ्दै जाँदा मौसमी चक्रले पनि आफ्नो रुप परिवर्तन गरेको देखिएको विज्ञहरूको विश्लेषण छ। जलवायु विज्ञ डा. उप्रेती अहिले पानी नपर्नुमा विभिन्न प्रणालीसँगै जलवायु परिवर्तन मुख्य कारण रहेको बताउँछन् । ‘समुद्रमा जुन खालको वाष्पीकरण हुनुपर्ने हो, त्यो नहुँदा पानी परेको छैन’, उनले भने, ’तथापि एक–दुई दिनमा असारे खडेरीजस्तो अवस्था अन्त्य हुने संकेत देखिएको छ ।’ दुईवटै समुद्र (अरब सागर र बंगालको खाडी) मा पानी पार्ने प्रणाली कमजोर रहनुका साथै वाष्पिकरण कम हुनु र जलवाष्पयुक्त वायु बहेर नेपालतिर आउने र वर्षा गराउने प्रणाली कमजोर भएकाले पर्याप्त पानी नपरेको उनी बताउँछन् ।

    डा. उप्रेतीका अनुसार आकासमा एक खालको बादल हुन्छ, जसले पानी पार्ने प्रणाली विकसित गर्छ तर तल्लो स्थानीय वायु एकदमै सुक्खा (ड्राई) भयो । ‘यसले गर्दा माथिबाट लगभग दुईदेखि तीन मिलिमिटरसम्म आकासमै वर्षा हुँदा पनि भूउपग्रहबाट हेर्दा काठमाडौँमा वा नेपालमा वर्षा भएको जस्तो देखिन्छ तर यथार्थमा जमिनमा खस्दैन। त्यो आकासमै बिलाएर वाष्पिकरण भई उडेर अर्कै ठाउँमा जान्छ’, उनले थपे ।

    डा. उप्रेतीका अनुसार पृथ्वीमा तापक्रम अधिक भएर यस्तो अवस्था सिर्जना हुन्छ। तापक्रम औषतभन्दा बढी हुने वित्तिकै त्यसले वाष्पिकरणमा ठूलो मद्दत गर्छ । यदि कमजोर वायु प्रणाली र जलवाष्पयुक्त हावा छैन भने सामान्य अवस्थामा त्यस्तो वायु हुन्छ, त्यसलाई धकेलिदिन्छ र वाष्पिकरणमै उल्टो फर्काइदिन्छ, यस्तो हुँदा कमजोर अवस्थामा धर्तीसम्म पुग्न पाउँदैन । ‘पृथ्वीमा तातो बढेकोले कमजोर अवस्थामा पानी पार्ने प्रणाली फर्कियो र पानी परेन, यो जलवायु परिवर्तनकै असर हो’, उनले थपे।

    यस्तैगरी समुद्री सतहको तापक्रम (सि सर्फेस टेम्प्रेचर–एसएसटी) औसतभन्दा माथितिर गयो भने बंगालको खाडी र अरब सागरमा बलियो खालको न्यून चापीय प्रणाली बन्छ तर यसपटक हिन्द महासागर दुई ध्रुवीय (आईओडी) अवस्था पनि न्यूट्रल भएर बसेको छ । ‘यसरी हिन्द महासागर दुई ध्रुवीय अवस्था, एलनिनोसँगै समुद्री सतहको तापक्रम पनि औसतभन्दा केही माथि जाने अवस्था पनि न्यूट्रल भइरहेको छ, सबै कुरा न्यूट्रल भएर बसेपछि कहाँबाट पानी आउँछ ?’ उनले थपे । सामान्यतया वर्षामा ठूलो पानी नपरे भदौ, असोज वा हिउँदमा धेरै पानी पर्छ भन्ने गरिन्छ तर यो कुनै निश्चित नियम भने होइन । यसपटक पनि असारमा ठूलो पानी नपरेकाले असोजतिर भारी वर्षा हुनसक्छ भनेर अड्कल गरेको पनि सुनिन्छ। तथापि मनसुनको उत्तराद्र्धमा पानी पार्ने प्रणाली कस्तो रहला भनेर अहिले नै यकिन गर्न नसकिने विज्ञ बताउँछन् ।

    ‘मनसुनको जुन–जुलाईको एउटा र अगस्ट–सेप्टेम्बरको अर्को अवस्था हुन्छ। अब उत्तराद्र्ध कस्तो हुन्छ हेर्न बाँकी छ । एक–दुई दिनमा यसको दिशा कस्तो रहन्छ भन्न सकिन्छ, गतवर्ष सेप्टेम्बरमा ठूलो पानी परेको थियो’, डा. उप्रेतीले भने । पानी पार्ने प्रणाली विकसित भइरहेकाले अहिले नै सुक्खा भइहाल्यो भन्ने अवस्था नरहेको डा. उप्रेती बताउँछन् । आजै पनि पूर्वी भागमा मध्यमदेखि केही ठाउँमा भारी वर्षा हुने सम्भावना पनि छ। सुक्खा क्षेत्र घोषणा गरिएको मधेश प्रदेशमा आजदेखि पानी पर्ने पूर्वानुमान गरिएको मौसमविद् हरिप्रसाद दाहाल बताउँछन् । यद्यपि ठूलो वर्षाको सम्भावना भने नरहेको उनले बताए ।

    मध्यमखालको वर्षा गराउने प्रणाली देखिएको तर त्यसपछि सुक्खा हुने अनुमान गरिएको छ । ‘अबको तीन–चार दिनसम्म वर्षाको सम्भावना बलियो छ, त्यसपछि पूर्वी नेपाल तराईदेखि कोशी प्रदेश अझ सुक्खा हुँदैछ। त्यसपछि गर्मी पनि केही बढ्छ’, डा. उप्रेतीले भने, ’त्यसबेला अहिले भएकै प्रणाली पनि कमजोर हुन्छ र पानी झन् कम पर्ने देखिन्छ ।’ विज्ञका अनुसार, जलवायु परिवर्तनको असरका कारण केही वर्षयता मौसमको ट्रेन्ड बदलिएको बताइन्छ। वर्षेनी तापक्रमको स्तर उच्च विन्दुमा पुग्ने गरेको छ भने पानी पर्ने ट्रेन्ड पनि फरक देखिएको छ ।

    समयमा पानी नपर्ने र वेमौसममा अत्यधिक वर्षा भएको देखिन्छ । सन् २०२१ मा जुनमा मनसुन प्रवेश गर्दै खेरी भारी वर्षा भएको थियो। जुनसँगै जुलाईको १५ मा पनि भारी वर्षा भयो। सन् २०२२ मा मनसुन केही कमजोर भएको थियो भने त्यसयता सन् २०२३, २०२४ र अहिले पनि पानी पर्ने फरक हुँदै गएको देखिन्छ । ‘सन् २०२४ मा औसतभन्दा बढी पानी पर्ने अनुमान गरिए पनि एउटा निश्चित समयमा एकैपटक ठूलो वर्षा भयो तर मनसुनको अवधि (तीन महिनासम्म) पानी परिरहने वा पानीका मुहान फुट्ने गरी गतवर्ष पनि वर्षा भएन’, उनले भने, ’पोहोर काठमाडौँ डुबाउने गरी एकैचोटी त्यति ठूलो पानी प¥यो तर बाँकी समयमा बागमती प्रदेशमै पनि त्यति ठूलो वर्षा भएन ।’

    यस्तैगरी अहिले ’ला लिना’ एक्टिभ भएको छैन । ‘समुद्रको जुन अवस्था छ, त्यो ’एल निनो’देखि ला लिनामा उन्मुख भइसकेको छैन र अझै एक–दुई महिना समय लाग्छ जस्तो देखिन्छ’, डा. उप्रेतीले भने । ला लिनाको अवस्थामा एसियामा औसतभन्दा धेरै पानी पर्छ भने यसको विपरीत अफ्रिका, अमेरिकन देश, ल्याटिन अमेरिकामा सुक्खा हुन्छ। यसपटक अमेरिकामा भयङ्कर पानी पर्दा यस क्षेत्रमा सुक्खा अवस्था छ । यो एल निनो र ला लिनाको चक्रले सिर्जना गर्ने अवस्था हो । ‘अहिले एसिया त्यसमा पनि दक्षिण एसिया सुक्खा छ, भारतमा औसतमा धेरै पानी परेको छैन तथापि समुद्री देश भएकाले हिजो–आज त्यहाँ भारी वर्षा भएको छ तर त्यो भारी वर्षा गराउने प्रणाली नेपालतर्फ आइसकेको अवस्था छैन’, डा. उप्रेतीले भने ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images