मुम्बई । अभिनेत्री शेफाली जरीवालाको ४२ वर्षको उमेरमा मृत्यु हुनुको कारण अझै गर्भमै छ ।
उनको मृत्युको कारणबारे अनुसन्धान गरिरहेका प्रहरी अधिकारीहरूले शेफालीले एन्टी–एजिङ ट्याब्लेटसहित धेरै औषधि सेवन गरिरहेको बताएका छन् । खाली पेटमा यी औषधि सेवन गरेका कारण उनको रक्तचाप अचानक घटेर मृत्यु भएको हुन सक्ने बताइएको छ ।
समाचार संस्था पीटीआईले एक प्रहरी अधिकारीलाई उद्धृत गर्दै भएको छ, “जुन २७ को दिउँसो शेफालीले एउटा सुई लगाएकी थिइन्, जुन बुढ्यौली रोक्ने सुई थियो ।”
प्रहरी अधिकारीले भने, “उनको रक्तचाप द्रुत गतिमा घट्यो र उनी काम्न थालिन् । यसपछि परिवारका सदस्यहरूले उनलाई अस्पताल पुर्याए ।”
जुन २७ को राति शेफालीलाई अन्धेरीको बेलेभ्यू मल्टिस्पेसलिटी अस्पताल लगिए पनि चिकित्कसहरूले मृत घोषणा गरे । राति १ बजे प्रहरीलाई जानकारी दिएपछि शव पोस्टमार्टमको लागि कुपर अस्पताल लगिएको थियो । शेफालीका श्रीमान्, आमाबाबु र घरमा काम गर्ने कामदारको बयान रेकर्ड गरिसकेको छ । त्यतिबेला उनीहरू सबै घरमै थिए ।
तर, अहिलेसम्म केही शंकास्पद विषय फेला परेको छैन । अनुसन्धानको क्रममा प्रहरीको टोली फरेन्सिक विज्ञसहित उनीहरूको घरमा गयो । प्रहरीले शेफालीको औषधि र इन्जेक्सनहरूको नमुना संकलन गरेको छ ।
यद्यपि, बीबीसीले शेफालीले एन्टी–एजिङ ट्रिटमेन्ट लिइरहेकी थिइन् कि थिइन् भन्ने पुष्टि गरेको छैन । तर, उनको मृत्यु पछि, बुढ्यौलीविरोधी उपचारबारे चर्को बहस भएको छ ।
अभिनेत्रीहरूले के भने ?
शेफालीको मृत्युपछि अभिनेत्री मल्लिका शेरावतले इन्स्टाग्राममा एक भिडियो सेयर गर्दै आफ्ना फ्यानहरूलाई ‘स्वस्थ जीवनशैली’ अपनाउन सल्लाह दिएकी छन् ।
उनले भनेकी छन्, “मैले कुनै फिल्टर प्रयोग गरेको छैन, मेकअप गरेको छैन, कपाल पनि बनाएको छैन । म यो भिडियो तपाईंहरू सबैसँग साझा गर्दैछु किन भने हामीसँगै बोटक्स, कृत्रिम कस्मेटिकलाई अस्वीकार गर्न सकौँ र स्वस्थ जीवनशैली अपनाउन सकौँ ।”
यसैबीच, एक अन्तर्वार्तामा अभिनेत्री करिना कपूरले भनेकी छन्, “म बोटक्सको विरुद्धमा छु ।”
यद्यपि, उनी बढ्दो उमेरसँगै अभिनेत्रीहरूका लागि बढ्दो चुनौतीबारे मात्र बोलिरहेकी थिइन् । उनलाई ‘तपाईं पनि चाउरिपना र बुढ्यौलीसँग डराउँनुहुन्छ’ भनेर सोधिएको थियो ।
“म बोटक्सको विरुद्धमा छु । तर, म आफ्नो ख्याल राख्ने पक्षमा छु, जसको अर्थ स्वस्थ रहनु, राम्रो महसुस गर्नु र प्राकृतिक उपचारहरू गर्नु हो,” यसबारे करिनाले भनिन्, “यो आफ्नो र आफ्नो प्रतिभाको संरक्षण गर्ने हतियार हो ।”
उनले आफू प्राकृतिक उपचारबाहेक सुई र शल्यक्रियामा संलग्न नहुने बताएकी थिइन् ।
यद्यपि, यी दुवै अभिनेत्रीले आफ्नो बयानमा शेफालीको नाम उल्लेख गरेका छैनन् । तर, उनको मृत्युपछि यी दुई अभिनेत्रीहरूको बयानलाई यसैसँग जोडिएको छ ।
एन्टी–एजिङ उपचार भनेको के हो ?
उमेर बढ्दै जाँदा अनुहारमा प्रस्ट लाइन र चाउरीपना देखा पर्न थाल्छन्, अनुहारको छाला पनि विस्तारै झर्न थाल्छ । तर, यसलाई रोक्न आजकल कस्मेटिक सर्जरी, इन्जेक्टेबल फिलर, बोटक्स आदिको चलन बढेको छ ।
एन्टी–एजिङ उपचार भनेको औषधिले बुढ्यौलीको प्रभावलाई कम गर्न सहयोग गर्छ । यीमध्ये सबैभन्दा लोकप्रिय बोटक्स हो । यो एक शक्तिशाली इन्जेक्सन हो । यसले मांसपेसीहरूलाई आराम दिन्छ । बोटक्स निधारको रेखा वा आँखा वरिपरिको रेखा, नाक वरिपरिको रेखा कम गर्न प्रयोग गरिन्छ ।
२० वर्षअघि फुड एन्ड ड्रग्स एडमिनिस्ट्रसन (एफडीए)ले कस्मेटिक प्रक्रियाहरूमा यसको प्रयोगलाई अनुमोदन गरेको थियो ।
द एस्थेटिक क्लिनिकका वरिष्ठ कस्मेटिक सर्जन डा. देबराज शोमका अनुसार, डर्मल फिलरहरू छालाभित्र दिइने इन्जेक्सन हुन् । डर्मल फिलरहरू छालाका कोषहरू जुन पदार्थबाट बनेका हुन्छन्, त्यही पदार्थबाट बन्ने गरेको उनले बताएका छन् ।
छालामा कोलाजेन उमेर बढ्दै जाँदा घट्दै जाने तर फिलरको मद्दतले कोलाजेन फेरि थपिन्छ र अनुहार जवान देखिने उनले बताएका छन् ।
धेरै मानिसले बुढ्यौली रोक्न लागि ग्लुटाथियोन इन्जेक्सन पनि प्रयोग गर्छन् । यो एन्टिअक्सिडेन्ट हो, जसले शरीरको कोषहरूमा हुने क्षतिलाई रोक्न मद्दत गर्छ । ग्लुटाथियोन प्रायः नसाबाट इन्जेक्सन र ट्याब्लेटमार्फत लिइन्छ ।
कैलाश अस्पतालका छाला विज्ञान विभागकी वरिष्ठ सल्लाहकार डा. अन्जु झा भन्छिन्, “हाम्रो शरीरमा ग्लुटाथियोन पहिले नै हुन्छ । तर, उमेर बढ्दै जाँदा शरीरले ग्लुटाथियोन उत्पादन गर्न बन्द गर्छ । त्यसैले यसलाई बाहिरीरूपमा लिइन्छ ।”
ग्लुटाथियोन लिने मानिसको छालाको रंगमा केही सुधार हुने उनी बताउँछिन् । “नसामा ग्लुटाथियोन लिइयो भने यसको नतिजा अझ राम्रो हुन्छ । तर यसको साइड इफेक्ट पनि छ । यो एफडीएबाट अनुमोदित छैन,” उनले भनिन् ।
यो उपचार कति सुरक्षित छ ?
इन्डियन एक्सप्रेससँग दिल्लीको सर गंगाराम अस्पतालको छाला विज्ञान विभागका अध्यक्ष डा. ऋषि पराशरले केही अपवादबाहेक यस्ता इन्जेक्सन अहिलेसम्म सुरक्षित रहेको बताएका छन् । तर, यसको प्रयोग छाला रोग विशेषज्ञको निरीक्षणमा लिनुपर्छ ।
अप्रिल २०२४ मा बोटक्सको जोखिमबारे छलफल तीव्र भयो । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले २५ देखि ५९ वर्ष उमेरका २२ महिलाहरूमा बोटक्सको हानिकारक प्रतिक्रियाहरू देखिएको भन्दै चेतावनी जारी गरेको थियो । यीमध्ये ११ जनालाई अस्पताल भर्ना गर्नुपरेको थियो । ६ जनामा यस्तो अवस्था फेला परेको थियो, जहाँ बोटक्समार्फत दिइने विषाक्त पदार्थ फैलिएर स्नायु प्रणालीमा पुगेका थिए ।
“यो त्यस्तो अवस्था हो जसले मृत्यु पनि निम्त्याउन सक्छ,” इन्डियन एक्सप्रेसको समाचारमा उल्लेख छ ।
यसबारे डा. पराशरले यी सबै महिलाहरूले स्वास्थ्य सेवा केन्द्रहरू पनि नभएका ठाउँहरूमा बिनाइजाजतपत्र वा इजाजत नलिएका व्यक्तिहरूबाट इन्जेक्सन लिएको बताएका छन् ।
“एफडीएले ग्लुटाथियोनलाई अनुमोदन गरेन किन भने यसको केही साइड इफेक्ट छन् । यसले केही बिरामीहरूमा स्टिभेन्स जोनसनजस्ता रोगहरू निम्त्याउन सक्छ,” यी औषधिहरूले निम्त्याउने जोखिमहरूको बारेमा डा. अन्जु झा भन्छिन्, “यी औषधि प्रतिक्रियाहरूबाट उत्पन्न हुने अवस्थाहरू हुन्, जसमा मृत्युको सम्भावना हुन्छ । यद्यपि, यो धेरै दुर्लभ छ ।”
उनले यस्तो औषधिको प्रभाव सेवन गरिरहँदासम्म मात्र रहने उनले प्रस्ट पारेकी छन् ।
यस्तो औषधिले हृदयघात गराउन नसक्ने तर कहिलेकाहीँ अत्यधिक मात्रामा प्रयोग गर्दा कलेजो र मिर्गौलालाई असर गर्न सक्छ । “यो उपचार विशेषज्ञद्वारा गर्नु पर्छ । सुई लगाउने काम आफैँ र पार्लरमा पनि नगर्नुहोस्,” उनले भनेकी छन्, “ज्ञान नभएको कुनै पनि चिकित्सकबाट पनि नगराउनुहोस् ।”


विश्व खबर 


















