images
images
  • त्रिवि उपकुलपति : ३ जनाको नाम प्रधानमन्त्री ओलीको खल्तीमा, एमाले निकटलाई नियुक्त गर्ने तयारी

    काठमाडौं– त्रिभुवन विश्वविद्यालय (त्रिवि)को नयाँ उपकुलपति नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

    उपकुलपति छनोट सिफारिस समितिले तीन जनाको नाम सिफारिस गर्दै प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष पेश गरेको हो ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको संयोजकत्वमा गठन गरिएको तीन सदस्यीय समितिको आइतबार बसेको बैठकले तीन जनाको नाम छनोट गरेको थियो ।

    GopalDahal KTM 2272948573 e71d 4cea b36e a090ae4d9b53copy scaled

    सोमबार ती नामहरू औपचारिक रूपमा कुलपति ओलीलाई बुझाइएको हो ।

    समितिसँग नजिक स्रोतका अनुसार छिट्टै उपकुलपति नियुक्तिको निर्णय हुने सम्भावना छ ।

    उक्त पदका लागि प्रारम्भिक रूपमा १२ जना वरिष्ठ प्राध्यापकहरूको नाम दर्ता भएको थियो। त्यसपछि समितिले पाँच जनाको नाम छोटो सूचीमा राखेर अन्तिम छलफल गरेको थियो ।

    तीमध्ये प्रा.डा. खड्ग केसी, प्रा.डा. बिनिल अर्याल, प्रा.डा. योगेन्द्रबहादुर गुरुङ, प्रा.डा. उपेन्द्र कोइराला, र प्रा. डिल्ली उप्रेती रहेका थिए ।

    यिनैमध्येबाट तीन जनाको नाम सिफारिस गरिएको जनाइएको छ ।

    यद्यपि सिफारिसमा परेका व्यक्तिहरूको नाम सार्वजनिक गरिएको छैन । स्रोतका अनुसार गोपनीयताका कारण सिफारिसमा परेका नामहरू अहिले खुलाइएको छैन ।

    यसअघि उपकुलपति केशरजङ्ग बरालले कार्यकाल सुरु भएको १३ महिनामै राजीनामा दिएपछि त्रिविको नेतृत्व रिक्त रहँदै आएको थियो ।

    बरालको राजीनामा चैत २८ गते स्वीकृत गरिएको थियो ।

    त्यसपछि वैशाख २ गते शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको थियो ।

    प्रचलित नियमअनुसार उपकुलपति रिक्त रहँदा अधिकतम तीन महिनाको अवधिसम्म निमित्त उपकुलपतिको जिम्मेवारी दिन सकिन्छ ।

    त्यही व्यवस्था अनुसार केसीले हालसम्म विश्वविद्यालयको नेतृत्व गरिरहेका छन् ।

    अब प्रधानमन्त्री तथा कुलपतिबाट अन्तिम निर्णय आएपछि त्रिविले नयाँ उपकुलपति पाउनेछ । नयाँ उपकुलपतिले चार वर्षको कार्यकालका लागि विश्वविद्यालयको नेतृत्व सम्हाल्नेछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images