images
images
  • यी हुन् त्रिवि उपकुलपतिका प्रतिस्पर्धी (नामावलीसहित)

    काठमाडौं– त्रिभुवन विश्वविद्यालयको नयाँ उपकुलपति चयनका लागि प्रतिस्पर्धा तीव्र बन्दै गएको छ ।

    प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले गत जेठ ६ गते शिक्षामन्त्री रघुजी पन्तको संयोजकत्वमा तीन सदस्यीय उपकुलपति सिफारिस समिति गठन गरेका थिए ।

    सो समितिले १२ जना उम्मेदवारमध्येबाट तीन जनाको नाम सिफारिस गर्ने अन्तिम चरणको तयारी गरिरहेको छ ।

    शिक्षा मन्त्रालय स्रोतका अनुसार १२ जना उम्मेदवारको बायोडाटा अध्ययन गरिसकिएको छ भने सिफारिस समितिमा उनीहरूको नाम सूचीकृत भइसकेको छ ।

    तीमध्ये पाँच जना वरिष्ठ प्राध्यापकबीच मुख्य प्रतिस्पर्धा रहेको बताइएको छ । प्रतिस्पर्धामा रहेका प्रमुख नामहरूमा प्राडा विनिल अर्याल, प्राडा योगेन्द्र बहादुर गुरुङ, प्राडा खड्ग केसी, प्राडा उपेन्द्र कोइराला र प्राडा डिल्ली उप्रेती रहेका छन् ।

    यसअघि त्रिवि उपकुलपति रहेका प्राडा केशरजंग बरालले १५ चैतमा राजीनामा दिएका थिए । उनले चार वर्षको कार्यकाल बाँकी रहँदै १३ महिनामै पद त्याग गरेका थिए ।

    प्रधानमन्त्री ओलीले २८ चैतमा सो राजीनामा स्वीकृत गरेपछि वैशाख २ मा विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा खड्ग केसीलाई तीन महिनाका लागि कार्यवाहक उपकुलपतिको जिम्मेवारी दिएका थिए ।

    प्रचलित व्यवस्थाअनुसार उपकुलपति पद रिक्त भएको अवस्थामा तीन महिनासम्म कार्यवाहक व्यवस्था मिलाउन सकिने कानुनी प्रावधान छ । अब उक्त अवधि सकिनै लागेको कारण सिफारिस समिति नयाँ उपकुलपतिको नियुक्तिका लागि अन्तिम सिफारिस दिन लागिएको हो ।

    शिक्षा मन्त्रालय स्रोतका अनुसार सिफारिस समितिको बैठक आइतबार साँझ बस्ने तयारी छ, जहाँ तीन जना नाम छनोट गरी प्रधानमन्त्रीसमक्ष सिफारिस गरिनेछ । अन्तिम नियुक्तिको अधिकार प्रधानमन्त्री ओलीकै हातमा रहेको छ ।

    स्रोतका भनाइअनुसार, ‘सिफारिस समितिको सबै तयारी पूरा भइसकेको छ, आजको बैठकबाट तीन नाम टुंगो लाग्ने सम्भावना छ ।’ अब केपी शर्मा ओलीको निर्णयले नै त्रिविको नेतृत्वमा आउने नयाँ उपकुलपतिलाई सुनिश्चित गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस्

    images