images
images
  • एमालेभित्रै गहिरिँदो ध्रुवीकरण : बलियो बन्दै विद्या, अल्पमतमा ओली

    काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्रको शक्ति सन्तुलन तीव्र रूपले परिवर्तन हुँदै गएको संकेत देखिएको छ । १४ असारमा आयोजित सार्वजनिक कार्यक्रममा पूर्वराष्ट्रपति तथा पूर्वउपाध्यक्ष विद्या भण्डारीले सक्रिय राजनीतिमा फर्कने संकेत दिएपछि पार्टीभित्र ध्रुवीकरणको गति झनै तेज भएको हो ।

    पार्टीको अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्या भण्डारीको धार स्पष्ट रुपमा अलग देखिन थालेको छ । १४ असारको कार्यक्रममा भण्डारीले बोलेका शब्द र त्यसपछि नेताहरूको उपस्थितिले पार्टी दुई धारमा बाँडिएको सन्देश दिएको छ ।

    प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली, भण्डारी र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीचको सार्वजनिक अभिव्यक्तिले अब पार्टीभित्र गम्भीर गुटगत शक्ति संघर्ष प्रारम्भ भएको पुष्टि भएको छ ।

    पदाधिकारीहरू को कता ?

    एमालेका १९ पदाधिकारीमध्ये स्रोत अनुसार ९ जना विद्या भण्डारीको पक्षमा स्पष्ट देखिएका छन् भने ओली पक्षमा ७ जना खुलेर उभिएका छन् । बाँकी २ जना हालसम्म मौन छन् । सचिव टोपबहादुर रायमाझी निलम्बनमा रहेका छन् ।

    विद्या भण्डारी समूहको नेतृत्व अहिले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरिरहेका छन् । ओलीको लाइनविरुद्ध काउन्टर रणनीति अघि सार्दै पोखरेलले हालै विभिन्न आन्तरिक बैठक र सार्वजनिक अभिव्यक्तिमा विद्या पक्षधरता देखाएका छन् ।

    विद्या भण्डारी समूहमा सम्भावित नेताहरू

    ईश्वर पोखरेल (वरिष्ठ उपाध्यक्ष), सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य (उपाध्यक्षहरू), पृथ्वीसुब्बा गुरुङ (उपमहासचिव), गोकर्ण विष्ट, रघुवीर महासेठ, छविलाल विश्वकर्मा (सचिवहरू) । यीमध्ये केहीले खुलेर धार नबताए पनि पार्टीभित्र उनीहरूको अघिल्लो कार्यशैली, व्यवहार र भनाइले उनीहरू भण्डारी पक्षधर हुने अनुमान गरिएको छ ।

    विशेषतः पाण्डे, ज्ञवाली र शाक्यजस्ता नेताहरूले विगतमा माधव नेपाल पक्षमा उभिएर ओलीको निर्णयको आलोचना गरेका थिए । उनीहरू पार्टी विधानमा रहेको ७० वर्षे उमेरसीमा र कार्यकाल सीमाका पक्षधर मानिन्छन् । जुन कुरा ओलीको सम्भावित निरन्तरताको विपक्षमा जान्छ ।

    ओली समूहको हालको स्थिति

    अध्यक्ष ओलीको पक्षमा खुलेर उभिएका पदाधिकारीहरू रामबहादुर थापा (बादल) (उपाध्यक्ष), गुरु बराल (उपाध्यक्ष), शंकर पोखरेल (महासचिव), प्रदीप ज्ञवाली, विष्णु रिमाल (उपमहासचिवहरू) र पद्मा अर्याल (सचिव) ।

    यीमध्ये महासचिव पोखरेलले हालै पोखरामा आयोजित कार्यक्रममा विद्या भण्डारीको राजनीतिक सक्रियता र सम्भावित प्रवेशमाथि तीव्र आलोचना गरेका थिए । उनले सचिवालयमा समेत भण्डारीलाई पुनःसक्रिय हुन रोक लगाउने प्रस्ताव प्रस्तुत गरेका थिए ।

    मौन धारण गरेका नेताहरूमध्ये विष्णु पौडेल (उपाध्यक्ष) र लेखराज भट्ट (सचिव) । विष्णु पौडेल केही समयअघि भण्डारीनिकट मानिए पनि हाल अर्थमन्त्री भएपछि मौन छन् । अर्कोतर्फ सचिव लेखराज भट्टको धार अझै अस्पष्ट छ ।

    महासेठको स्थिति

    रघुवीर महासेठको राजनीतिक यात्राले पनि गम्भीर ध्यान खिचेको छ । उनी पहिले ओलीनिकट मानिए पनि उनी वास्तवमा वामदेव गौतमनिकट नेताका रूपमा चिनिन्छन् । गौतमले ओली पक्ष रोज्नुभन्दा पहिल्यै महासेठले उनैलाई छाडेको स्रोत बताउँछ ।

    एमालेभित्रको यो बहस केवल गुटगत राजनीति होइन, भविष्यको नेतृत्व र नीति निर्माणको दिशाबारे गहिरो बहस हो । ओलीको एकछत्र शैली र नेतृत्व विरुद्ध विद्या भण्डारीको पुनरागमनलाई धेरै नेताहरूले अवसरका रूपमा लिएका छन् ।

    ओलीको नीतिगत वर्चस्व र नियन्त्रणलाई चुनौती दिन सक्ने हैसियतमा अब विद्या भण्डारीको पक्ष बलियो बन्दै गएको देखिन्छ । आगामी महाधिवेशनसम्म पुग्दा पार्टीभित्रको सन्तुलन कता जाने हो भन्ने विषय अबको समयले बताउनेछ ।

    प्रतिक्रिया दिनुहोस्

    images