काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकमाथिको छलफलका लागि बोलाइएको संसद्को शिक्षा समितिको बैठक स्थगन गर्ने प्रस्ताव गरेका छन् ।
समितिको बैठक सोमबार बिहान ८ः३० बजेका लागि तय गरिएको थियो । तर, विधेयकका केही विवादास्पद प्रावधानमा सहमति नजुटेपछि बैठक निर्धारित समयमै सुरु हुन सकेन । केहीबेरअघि सुरु भएको बैठकमा मन्त्री पन्तले औपचारिक रूपमा बैठक स्थगनको प्रस्ताव पेस गरेका हुन् ।
शिक्षामन्त्री पन्तले बैठकअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरी समसामयिक विषयमा परामर्श गरेका थिए । त्यसपछि उनी सिंहदरबार पुगेर समितिमा बैठक स्थगनको प्रस्ताव अघि सारेका हुन् ।
विद्यालय शिक्षा विधेयकलाई लिएर शिक्षक महासंघले निरन्तर दबाब दिँदै आएको छ । उनीहरूले सरकारलाई असार १५ गतेसम्मको अल्टिमेटम दिएका थिए, जसको अन्तिम म्याद सकिएपछि आइतबार बिहानै महासंघका नेताहरू सिंहदरबार पुगेका थिए ।
सरकार र महासंघबीच खासगरी शिक्षकको पदपूर्ति प्रणालीमा मतभेद देखिएको छ । मन्त्रालयले ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाका आधारमा नियुक्तिको प्रस्ताव राखेको छ भने महासंघले उल्टै ६० प्रतिशत खुला र ४० प्रतिशत आन्तरिक माग गर्दै आएको छ ।
यही विषयमा सहमति नजुटेपछि महासंघका प्रतिनिधिहरू वार्ताबाट बाहिरिएका छन् । समितिबाट विधेयक हिजै पारित हुने भनिए पनि अन्तिम घडीमा विवाद अझ पेचिलो बनेको छ ।
बैठकमा सहभागी हुन सांसदहरू बिहानैदेखि सिंहदरबार पुगेका थिए । तर सहमति अभावका कारण बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।


विश्व खबर 




















