काठमाडौं– भारत र पाकिस्तानका आणविक सम्पन्न सेनाहरूबीचको द्वन्द्वले दुई देशबीचको साझा सांस्कृतिक भावनामा चोट पुर्याएको छ ।
दुई देशबीच राजनीतिक रूपमा द्वन्द्व लामो समयदेखिको निको पार्न नसकिएको घाउ बनेको भएपनि त्यहाँका नागरिकको फिल्म र सङ्गीतप्रति साझा भावना रहँदै आएको देखिन्छ ।
दुई देशबीच सबैभन्दा खराब मानिएको मे महिनाको सुरुमा भएको घातक लडाईंले कलाकारहरूको मनोविज्ञानलाई प्रभावित गरेको अनुभव भएको छ । नेताहरूबीचको वैमनस्यताबाट फिल्मी र साङ्गीतिक क्षेत्र पनि अछूतो रहन सकेन ।
पाकिस्तानी र्यापर तथा कमेडियन अली गुल पिरले केही वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मजाक गर्दै एउटा गीत सार्वजनिक गरेका थिए ।
उनको युट्युब च्यानल र इन्स्टाग्राम प्रोफाइल भारतमा मे महिनामा ब्लक गरिएको थियो ।
“डिजिटल स्पेसले पाकिस्तानी र भारतीयबीच पुलको काम गर्छ भन्ने कुरा अहिले भारतीयहरूले बुझेका छन् र उनीहरू त्यो सम्बन्ध तोड्न चाहन्छन्,” पिरले एएफपीसँग भने ।
भारत प्रशासित काश्मिरमा गत अप्रिलमा पर्यटकमाथि भएको घातक आक्रमणपछि द्विपक्षीय सम्बन्ध बिग्रिएको भारतीय दावी छ । पाकिस्तानले उक्त आरोपको खण्डन गरेको छ ।
मे महिनामा आपसी कूटनीतिक प्रतिशोधपछि युद्धविराम हुनुअघि दुई देशबीच चार दिनसम्म युद्ध भएको थियो ।
पाकिस्तानी गायिका अनुरल खालिदले पनि आफ्नो भारतीय फलोअर्स कम भएको पाएपछि पहिलो पटक सङ्गीत उद्योगलाई प्रभावित गरेको महसुस गरेको बताए ।
खालिदले भने, “स्पोटिफाईमा मेरा मासिक ३१ लाख श्रोता छन् । प्रतिबन्धअघि दिल्ली मेरो सङ्गीत सबैभन्दा बढी सुन्ने सहर थियो ।”
उनले एएफपीसँग भने, “मैले भारतीय दर्शकमाझ ठूलो क्षति बेहोर्नुपर्यो ।”
खालिदले भने, “सङ्गीतलाई यस्तो चीजमा परिणत गरियो । यो गलत हो । श्रोताहरू अहिले सङ्गीत सामग्रीबाट वञ्चित भएका छन् ।”
सन् २०१७ मा भारतमा स्पोटिफाईमा रिलिज भएको फिल्म ‘रइस’ को ‘साउण्डट्र्याक’ जस्ता केही पूर्व आदानप्रदानलाई पनि द्वन्द्वले समेटेको थियो ।


विश्व खबर 




















