नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ। बैठक बिहान १० बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भोलि सोमबारदेखि सानेपामा बस्दैछ।
उक्त बैठकका एजेन्डासहितका विषयमा छलफल गर्न बैठक डाकिएको पौडेलको भनाइ छ। ‘भोलिदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकका एजेन्डासहितका विषयमा छलपल गर्न पदाधिकारीहरूले छलफल गर्दै हुनुहुन्छ’ उनले भने।
गत फागुन १ गते बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले चैत मसान्तसम्म तरुण दल, नेविसंघ, महािला संघ, थारु संघ, किसान संघ र लोकतान्त्रिक खेलकुद संघलाई महाधिवेशन गर्न निर्देशन दिएको थियो। तर यी कुनैले पनि अझै अधिवेशन गर्न सकेका छैनन्।
भोलिदेखि सुरु हुने केन्द्रीय समिति बैठकले भ्रातृ संस्थाको तदर्थ समितिको पदावधि थप्ने या भंग गर्ने निर्णय गर्नेछ।
यसबाहेक सरकारको कामकारबाही र बजेटमा पार्टीका सांसदहरुको असन्तुष्टिबारे पनि छलपल हुनेछ।























