images
images
  • पक्राउ पर्ने डरमा पुटिन !

    काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को हप्ता ब्राजिलमा हुने ब्रिक्स शिखर सम्मेलनमा नजाने भएका छन् ।

    अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेकाले पुटिन ब्राजिल नजाने क्रेमलिनका विदेश नीति सहयोगी युरी उशाकोभले बताए ।

    उनका अनुसार, पुटिनले जुलाई ६–७ मा हुने सम्मेलनमा भिडियो लिंकमार्फत भाग लिनेछन् ।

    “यो निर्णय आईसीसीको सन्दर्भमा केही कठिनाइहरूका कारण लिइएको हो । त्यस सन्दर्भमा, ब्राजिल सरकारले हाम्रा राष्ट्रपतिलाई यस बैठकमा सहभागी हुन अनुमति दिने स्पष्ट अडान लिन सकेन,” उशाकोभले भने ।

    रुसी विदेशमन्त्री सर्गेई लभरोभले रुसको प्रतिनिधित्व गर्न शिखर सम्मेलनमा भाग लिनेछन् । मिडिया रिपोर्टहरूका अनुसार, चिनियाँ राष्ट्रपति सी जिनपिङले भने शिखर सम्मेलनमा भाग नलिने भएका छन् ।

    रुसले युक्रेनविरुद्ध पूर्ण युद्ध सुरु गरेको एक वर्षपछि पुटिनमाथि युक्रेनबाट सयौँ बालबालिकालाई निर्वासन हुन बाध्य गराएको आरोपमा आईसीसीले सन् २०२३ मा पक्राउ पुर्जी जारी गरेको थियो ।

    रुसले युद्ध अपराधको आरोपलाई अस्वीकार गरेको र क्रेमलिनले पक्राउ पुर्जीलाई अमान्य र शून्य घोषित गरेको छ ।

    रुसले आईसीसीको स्थापना सन्धिमा हस्ताक्षर गरेको छैन । तर, पुटिन आईसीसी सन्धिको हस्ताक्षरकर्ता देशमा यात्रा गर्दा पक्राउ हुने जोखिम हुने सञ्चारमाध्यमले जनाएका छन् ।

    सन् २०२३ मा उनले दक्षिण अफ्रिकामा भएको ब्रिक्स शिखर सम्मेलनमा नजाने निर्णय गरेका थिए ।

    तर, आईसीसी सदस्य राष्ट्र भए पनि गत वर्ष उनलाई मंगोलियामा रातो कार्पेटले स्वागत गरिएको थियो । –रोयटर्स

    प्रतिक्रिया दिनुहोस्
    images
    images