images
images
  • बेल्जियमलाई हराउँदै इटाली युरोकपको सेमिफाइनलमा

    काठमाडौं । विश्व वरीयताको शीर्षस्थानमा रहेको टिम बेल्जियमलाई हराउँदै इटाली युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ। यससँगै इटालीले अब युरोकपको सेमिफाइनलमा स्पेनसँगको भेट निर्धारण गरेको हो।

    जर्मनीको म्युनिखस्थित एलियन्ज एरिनामा भर्खरै सम्पन्न खेलमा इटालीले बेल्जियमविरुद्ध २-१ गोलको जित निकालेको हो। निकै प्रतिस्पर्धात्मक क्वार्टरफाइनल खेलमा इटालीले पहिलो हाफमा २(१ गोलको अग्रता बनाएको थियो।

    खेलको ३१ औं मिनेटमा इटालीका निकोलो ब्यारेलाले गोल गर्दै खेलमा अग्रता बनाएका थिए। उनले भेराट्टीले उपलब्ध गराएको बललाई उपयोग गर्दै अग्रता दिलाएका थिए।

    यता इटालीले दोस्रो गोल ४४ औं मिनेटमा गर्‍यो। ब्यारेलाले दिएको पासलाई सदुपयोग गर्दै लोरेन्जो इन्सिनेले अग्रतालाई दोब्बर बनाएका थिए।

    यद्यपि खेलको इन्ज्युरी समयमा जियोभान्नी डि लोरेन्जोले बेल्जियमका जेरेमी डोकूलाई बक्स भित्र फाउल गरेपछि रेफ्री पेनाल्टीको निर्णय लिएका थिए। भीएआरको चेकपछि पनि रेफ्रीले पेनाल्टीको निर्णय यथावत् राखेपछि रोमेलु लुकाकूले गोल गर्दै पहिलो हाफमा इटालीको अग्रतालाई २–१ गोलमा घटाएका थिए।

    तर, दोस्रो हाफमा भने थप गोल गर्न दुवै टिम असमर्थ रहे। लगातार आक्रामक बनिरहेको इटालीले गरेको १४ प्रहारमध्ये दुई प्रहार मात्र पोस्टको दिशामा परेका थिए। यता बेल्जियमले गरेको १० प्रहारमा चार प्रहार पोस्टको दिशामा रहे पनि कुनै प्रयास सफल भएनन्।

    यससँगै ५५ प्रतिशत बलमा पकड बनाएको इटाली जारी युरोकपमा लगातार पाँचौ जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ। अहिले इटाली सबै प्रतियोगिताका ३२ खेलसम्म अपराजित छ।

    यता पराजित बेल्जियम भने युरोकपबाट बाहिरिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images