images
images
  • इरानविरुद्धको युद्धमा अमेरिका सामेल हुने वा नहुने निर्णय, ट्रम्पले २ हप्ताभित्र गर्ने

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दुई हप्तामा जारी इजरायल-इरान युद्धमा आफ्नो देश प्रत्यक्ष रूपमा संलग्न हुने वा नहुने भन्ने निर्णय गर्ने भएका छन्।

    ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले राष्ट्रपति ट्रम्प यसबीच इरानसँग वार्ता हुने सम्भावनालाई ध्यानमा राख्दै यो नभएमा अर्को दुई हप्ताभित्र उसविरुद्धको लडाइँमा अमेरिका प्रत्यक्ष रूपमा जाने कि नजाने भन्ने निर्णय गर्ने विचारमा रहेको जानकारी दिएकी हुन्।

    तर ट्रम्प ‘वार्ताको पर्याप्त सम्भावना’ रहेको कुरामा आशावादी रहेको प्रेस सचिव लेभिटको भनाइ छ।

    लेभिटले पत्रकारहरूसँग भनिन्, ‘राष्ट्रपति ट्रम्पको सरल सन्देश हो: निकट भविष्यमा इरानसँग वार्ताको महत्त्वपूर्ण सम्भावना रहेको कुरालाई ध्यानमा राख्दै, चाहे त्यो हुन्छ वा हुँदैन, म अर्को दुई हप्ताभित्र अमेरिका इरानविरुद्ध प्रत्यक्ष रूपमा जाने कि नजाने’ निर्णय गर्नेछु।’

    बीबीसीका प्रमुख उत्तर अमेरिका संवाददाता ग्यारी ओ’डोनोहुले लेखेका छन्- यो कथनले कूटनीतिको सम्भावनालाई जन्म दिएको छ।

    जुन १३ देखि इरान र इजरायलबीच युद्ध जारी छ। एकअर्काविरुद्ध हवाई हमला गरिरहेका छन्।

    यस क्रममा बिहीबारसम्म दुवैतर्फ गरेर कम्तीमा ६६० जना मारिएको र १ हजार ७ सय जनाभन्दा बढी घाइते भएको तथ्यांक सार्वजनिक भएको छ।

    उक्त लडाइँमा अमेरिकाले इजरायलको समर्थन गरिरहेको छ भने इरानको विरोध गरिरहेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images