images
images
  • अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु, आजै नतिजा आउने

    काठमाडौं – नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४औँ राष्ट्रिय महाधिवेशन निर्णायक चरणमा प्रवेश गरेको छ। नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको हो।

    महाधिवेशन अध्यक्षमण्डलका सदस्य माधव ढुंगेलका अनुसार मतदान विद्युतीय प्रणालीमार्फत भइरहेको छ। कुल ४३ वटा इलेक्ट्रोनिक भोटिङ मेसिनमार्फत मतदान भइरहेको छ। आयोजकका अनुसार आज साँझ ४ बजेसम्म लाइन बसेका प्रतिनिधिहरूले मतदान गर्न पाउनेछन्। मतदान सकिएको करिब एक घण्टापछि मतगणना सुरु गरिने र आज राति नै नतिजा सार्वजनिक गरिने बताइएको छ।

    महाधिवेशनमा अध्यक्ष पदका लागि प्रकाश पौडेल र डा। सुजन कडरियाबीच प्रतिस्पर्धा हुँदैछ। खुला उपाध्यक्षका लागि विकास श्रेष्ठ, राजकुमार ढकाल, भरतसिंह धामी, धर्मेन्द्र केसी र गणेशबहादुर शाही प्रतिस्पर्धामा छन्। महिला उपाध्यक्ष पदका लागि सुजिता धिताल, अञ्जना सिवाकोटी, भवानी बजगाईं र आरती भट्टराई उम्मेदवार छन्।

    त्यस्तै, महासचिव पदमा आरके रोमश, दीपक धामी र सुनिल कँडेलले उम्मेदवारी दिएका छन्। विभिन्न पदहरूका लागि कुल ५१९ जना उम्मेदवार छन्।

    महाधिवेशनमा १,५४३ जना प्रतिनिधिहरूले मतदान गर्नेछन्। एक जनालाई मतदान गर्न औसतमा १५ देखि २० मिनेट लाग्ने अनुमान गरिएको छ। अनेरास्ववियुमा यसपटक पहिलोपटक ३२ वर्ष उमेरहद लागू गर्दै निर्वाचन सम्पन्न हुँदैछ। महाधिवेशन जेठ २५ गतेदेखि सुरु भएको हो।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images