काठमाडौं । अमेरिकाले इराकको राजधानी बगदादमा तैनाथ अमेरिकी दूतावासका कर्मचारीहरू र उनीहरूका आश्रितहरूलाई सुरक्षा जोखिम बढेको भन्दै फिर्ता बोलाउने निर्णय गरिएको छ ।
अमेरिकी अधिकारीहरूले यो निर्णयको पछाडि सुरक्षाको कारण बताए पनि खर्च कटौति गर्ने अभियानको एक भाग हुनसक्ने बताइएको छ ।
बुधबार एक अमेरिकी विदेश विभागका अधिकारीले बीबीसीलाई भनेका थिए, “हामी हाम्रा सबै दूतावासहरूमा उपयुक्त कर्मचारी तैनाथीको लगातार मूल्यांकन गरिरहेका छौँ । हाम्रो नयाँ विश्लेषणको आधारमा इराकमा हाम्रो मिसनको उपस्थिति घटाउने निर्णय गरेका छौँ ।”
यो कदम अमेरिका र इरानबीच हालै भएको हप्तौँको वार्तापछि आएको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानले आणविक हतियार विकास रोक्ने सम्झौतामा पुग्न आशा व्यक्त गरेका थिए ।
बुधबार ट्रम्पले इरानले युरेनियम विकास कार्य रोक्ने बारेमा उनी अब कम आशावादी भएको बताएका छन् ।
यो हप्ताको सुरुमा उनले इजरायलका प्रधानमन्त्रीसँग ४० मिनेट लामो टेलिफोन वार्ता गरेका थिए । जुन तनावपूर्ण भएको बताइएको थियो । इजरायलले लामो समयदेखि कूटनीतिकभन्दा सैन्य दृष्टिकोण अपनाउन आग्रह गर्दै आएको छ ।
बुधबार साँझ मध्यपूर्वका विभिन्न भागहरूबाट कर्मचारीहरू फिर्ता बोलाउने निर्णयको बारेमा सोधिएको प्रश्नमा ट्रम्पले भने, “उनीहरूलाई किन सारियो भने त्यो खतरनाक ठाउँ हुनसक्छ र हामीले निकाल्ने सूचना दिसकेका छौँ ।”


विश्व खबर 


















