काठमाडौं – नेकपा एमालेले अनेरास्ववियु (अखिल) को नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गर्न दबाब बढाएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि अध्यक्षमण्डलमा रहेका नेताहरू सर्वसम्मतिको मोडालिटी बनाउन सक्रिय भएका छन् ।
बालुवाटारमा प्रधानमन्त्रीसँग भएको भेटमा अखिलका पूर्वअध्यक्ष माधव ढुंगेल, किशोरविक्रम मल्ल, समिक बडाल, निवर्तमान महासचिव नरेश रोकायलगायत सहभागी थिए । स्रोतका अनुसार अध्यक्ष ओलीले हाल उमेरहद पार नगरेका चार जना पदाधिकारीहरूलाई समेटेर नयाँ नेतृत्व चयन गर्न निर्देशन दिएका हुन् ।
पार्टीले डा. सुजन कडरियालाई अध्यक्ष बनाउने संकेत दिँदै, बाँकी प्रकाश पौडेल, दीपक धामी र अञ्जना शिवाकोटीलाई उपाध्यक्ष र महासचिवमा व्यवस्थापन गर्न सुझाएको छ । तर अध्यक्षको दौडमा रहेका प्रकाश पौडेल र दीपक धामी अझै आफ्नो दाबीबाट पछि हटेका छैनन् । उनीहरूले निर्वाचनको माग गरेका छन् ।
३२ वर्षे उमेरहदका कारण हाल नेतृत्वका दौडमा रहेका सचिवहरूमा डा. कडरिया, पौडेल, धामी, शिवाकोटी र आरती भट्टराई छन् । डा. कडरिया क्लिनिकल साइकोलोजीका चिकित्सक रहे पनि विद्यार्थी राजनीतिमा सक्रिय छन् । उनलाई महासचिव शंकर पोखरेल, नेता सुजिता शाक्य र निवर्तमान महासचिव नरेश रोकायाको समर्थन छ, जसका कारण उनी अध्यक्षको लागि बलियो उम्मेदवारका रूपमा देखिएका छन् ।
पार्टी नेतृत्वले पौडेललाई उपाध्यक्ष वा महासचिव बन्न आग्रह गरेको छ, र भविष्यमा अध्यक्षको जिम्मेवारीको ढोका खुला हुने आश्वासन समेत दिएको छ । तर पौडेल असन्तुष्ट देखिएका छन् । उनले आफू पार्टी र ओलीप्रति सधैं निष्ठावान रहे पनि नेतृत्व चयनमा उपेक्षा भएको गुनासो गरेका छन् । उनी अध्यक्ष नबन्ने स्थिति देखिएपछि नेताहरूको सम्पर्कमा नआएको बताइएको छ ।
उनलाई मनाउन अनेरास्ववियुका पूर्वनेता ऐन महर, समिक बडाललगायतले प्रयास गरिरहेका छन् । पौडेल भने आफू बाँकीमध्ये सबैभन्दा सिनियर भएको दाबी गर्दै अध्यक्षको अडानमा कायम छन् ।
अखिलमा ९ जना पदाधिकारी रहने व्यवस्था छ । नयाँ प्रस्तावित संयोजनअनुसार अध्यक्षमा डा. कडरिया, उपाध्यक्षरमहासचिवमा पौडेल र धामी, महिला उपाध्यक्षमा अञ्जना शिवाकोटी तथा आरती भट्टराईलाई समावेश गर्ने योजना बनाइएको छ । बाँकी १५१ जना केन्द्रीय सदस्य, ४९ सचिवालय सदस्य र ४ वटा आयोगका पदाधिकारीहरू पनि चयन गरिनेछन् ।






















