images
images
  • पूर्व–पश्चिम राजमार्ग नजिकै बस दुर्घटना : १४ जना विद्यार्थीसहित १५ को मृत्यु

    काठमाडौं । विश्वविद्यालयका विद्यार्थीहरूलाई उनीहरूको क्याम्पसमा फर्काउँदै गरेको बस सोमबार उत्तरी मलेसियामा एउटा मिनिभ्यानमा ठोक्किँदा कम्तीमा १५ जनाको मृत्यु भएको प्रहरी र उद्धार सेवाहरूले बताएका छन् ।

    थाई सीमा नजिकैको व्यस्त पूर्व–पश्चिम राजमार्गमा गेरिक सहर नजिकै १३ जनाको घटनास्थलमै र दुई जनाको अस्पतालमा मृत्यु भएको थियो । मलेसियाको खतरनाक सडकमा एक दशकभन्दा बढी समयमा भएको यो सबैभन्दा घातक दुर्घटना हो ।

    ‘बसले नियन्त्रण गुमाएको र पछाडिबाट मिनिभ्यानलाई ठोकेको जस्तो देखिन्थ्यो,’ पेराक राज्य प्रहरी प्रमुख हिशाम नोर्दिनले भने ।

    अग्नि र उद्धार विभागले खिचेका घटनास्थलका तस्बिरहरूले देखाएअनुसार हरियो बस दाहिने छेउमा पल्टिएको थियो र पछाडिको भागको आवरण भाँचिएको थियो भने रातो मिनिभ्यान खाडलमा खसेको थियो र यसका झ्यालहरू फुटेका थिए ।

    ‘केही पीडित आफैँ बाहिर निस्कन सफल भए, केही पीडित बाहिर फ्याँकिए भने अन्यहरू अझै बसमा फँसेका थिए,’ पेराक राज्य विपद् व्यवस्थापन प्राधिकरणले एक विज्ञप्तिमा भन्यो ।

    उद्धारकर्ताहरूले बसबाट मानिसहरूलाई निकाल्न हाइड्रोलिक कटर प्रयोग गर्नुपरेको थियो । मृत्यु हुनेहरूमा सुल्तान इद्रीस शिक्षा विश्वविद्यालयका १४ विद्यार्थी थिए भने अन्तिम पीडित बस परिचारक थिए ।

    अन्य ३३ जना घाइते भएका छन् । तीमध्ये सात जनालाई गम्भीर अवस्थामा अस्पताल लगिएको छ ।

    अधिकांश पीडित २१ देखि २३ वर्षका थिए । उनीहरू उत्तरपूर्वी मलेसियाको जेर्तेह सहरबाट यात्रा गरिरहेका थिए । दुर्घटना स्थानीय समयानुसार बिहान १ः०० बजेपछि भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images