काठमाडौं – सर्वोच्च अदालतका निलम्बित शाखा अधिकृत महिमानसिंह विष्टले जिल्ला अदालत काठमाडौँको आदेश बदरको माग गर्दै उच्च अदालत पाटनमा पुनरावेदन दिएका छन्। नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न ‘अनधिकृत’ पत्र लेखेको आरोपमा पक्राउ परेका विष्टलाई जिल्ला अदालतले जेठ ५ गते एक लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको थियो।
विष्टले वैशाख १७ गते प्रहरी र डिल्लीबजार कारागारलाई चौधरीको पक्राउ सम्बन्धी पत्राचार गरेका थिए। उक्त पत्रकै आधारमा चौधरीलाई करिब पाँच घण्टा थुनामा राखिएको थियो। पछि सर्वोच्च अदालतले पत्र सच्याएपछि चौधरी रिहा भएका थिए।
उक्त घटनापछि प्रहरीले विष्टविरुद्ध लिखत किर्ते अभियोगमा अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। हाल सो मुद्दा जिल्ला अदालतमा विचाराधीन छ।
धरौटीमा छुटेका विष्टविरुद्ध रेशम चौधरीले पुनः थुनामा पठाउन माग गर्दै जेठ १९ गते उच्च अदालत पाटनमा निवेदन दिएका थिए। सो निवेदनका सम्बन्धमा उच्च अदालतले जिल्ला अदालतसँग सक्कल मिसिलसहित कैफियत माग गरिसकेको छ।
चौधरीको निवेदनपछि अब विष्ट स्वयंले पनि बिहीबार उच्च अदालतमा निवेदन दर्ता गराएका छन्। निवेदनमा उनले जिल्ला अदालतको धरौटी आदेश कानुनसम्मत नभएको दाबी गर्दै बदर गरी आफूलाई तारेखमा राख्न आग्रह गरेका छन्। साथै चौधरीले दिएको थुनामा पठाउने निवेदनसमेत खारेज गर्न माग गरेका छन्।
विष्टको निवेदनमाथि आज उच्च अदालत पाटनको इजलासमा सुनुवाइ हुँदैछ। उक्त सुनुवाइ न्यायाधीश द्वय डालकुमार खड्का र सूर्यप्रसाद पराजुलीको संयुक्त इजलासमा हुनेछ।






















