images
images
  • हाजिरी जमानीमा छुटेका मिश्र र राणा सम्पर्कविहीन , वकिललाई तिरायो ५०–५० हजार जरिवाना

    काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणा सम्पर्कविहीन भएपछि उनीहरूको जिम्मा लिएका वकिललाई प्रहरीले ५०–५० हजार रुपैयाँ जरिवाना तिराएको छ।

    तीनकुनेमा राजावादीहरूको प्रदर्शन हिंसात्मक बनेपछि चैत १५ गते पक्राउ परेका मिश्र र राणालाई प्रहरी हिरासतबाट हाजिरी जमानीमा छुटाइएको थियो। तर, उनीहरू अदालतमा उपस्थित नहुँदा जिम्मा लिने वकिलहरूलाई जरिवाना गरिएको हो।

    काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराका अनुसार, ‘हाजिरी जमानीमा लिएका व्यक्तिहरूलाई बुझाउने जिम्मा लिएका वकिलहरूले मिश्र र राणालाई अदालतमा उपस्थित नगराएकाले दुवै वकिललाई ५० हजार रुपैयाँका दरले जरिवाना गरिएको हो।’

    मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५(९४०) अनुसार, समयमै अदालतमा उपस्थित नगराइएमा अनुसन्धान अधिकृतले हाजिरी जमानी दिने व्यक्तिलाई ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्छन्।

    सर्वोच्च अदालतले मिश्रलाई २ जेठमा र राणालाई ७ वैशाखमा हाजिरी जमानीमा छाड्न आदेश दिएको थियो। मिश्रको रिहाइ सर्वोच्चको बन्दीप्रत्यक्षीकरण रिटपछि सम्भव भएको थियो भने राणालाई स्वास्थ्य उपचारको आधारमा छुटाइएको थियो। तर, छुटेको लामो समय बित्दासमेत दुवै अदालतमा उपस्थित भएका छैनन्।

    तीनकुनेको सो प्रदर्शनमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको नेतृत्वमा दुर्गा प्रसाईंसहितका समूहले सहभागिता जनाएका थिए। प्रदर्शनका क्रममा तोडफोड र आगजनीका घटनाहरू हुँदा कीर्तिपुरका सविन महर्जन र पत्रकार सुरेश रजकको ज्यान गएको थियो।

    उक्त घटनापछि मिश्र, राणा लगायत ६५ जनाविरुद्ध राजद्रोह, संगठित अपराध र आपराधिक उपद्रवसम्बन्धी मुद्दा दर्ता गरिएको छ। मुद्दाको थुनछेक बहस अहिले काठमाडौं जिल्ला अदालतमा जारी छ। मिश्र र राणा भने अझै बेपत्ता छन्।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images