images
images
  • वाईसीएल नेतृत्व टुङ्ग्याउन दीपशिखा र शेर्पालीलाई प्रचण्डको खुमलटार बोलाए

    काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले युथ संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) का इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ र निवर्तमान अध्यक्ष सुबोध शेर्पालीलाई खुमलटार बोलाएका छन्।

    वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलन नेतृत्व चयनमा सहमति जुट्न नसकेपछि दाहालले प्रमुख जिम्मेवारहरूलाई खुमलटार डाकेर छलफल थालेका हुन्। एक नेताका अनुसार, सर्वसम्मत नेतृत्व चयनको विकल्प खोज्नका लागि उनीहरूलाई बोलाइएको हो।

    बिहान बसेको माओवादी पदाधिकारी बैठकले नेतृत्व चयन प्रक्रियामा कुनै सहमति नभएपछि दीपशिखा, शेर्पाली र अन्य अध्यक्ष पद आकांक्षीहरूलाई नै छलफलको जिम्मा दिने निर्णय गरेको थियो।

    ‘इन्चार्ज र निवर्तमान अध्यक्षलाई खुमलटारमा बोलाइएको हो,’ एक नेताले भने, ‘पार्टीले सहमतिको आधारमा अध्यक्ष चयन गर्न जिम्मा दिएपछि उनीहरूलाई छलफलका लागि बोलाइएको हो।’

    बैठकले ऊर्जाशील र स्पष्ट निर्णय क्षमता भएका व्यक्तिलाई अध्यक्ष बनाउने गरी नाम सिफारिस गर्न निर्देशन दिएको छ। अध्यक्ष पदका आकांक्षीहरूमा केहरसिंह कुँवर, पुष्प ओली, नवराज ऐर, गणेश शाही, र डम्बर पुलामी प्रमुख छन्।

    वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलन जेठ १८ गतेदेखि सुरु भए पनि नेतृत्व चयनमा सहमति जुट्न नसक्दा सम्मेलन दुई दिन लम्बिएको छ। अब सहमतिको आधारमा नेतृत्व टुंग्याउने प्रयासमा पार्टी नेतृत्व सक्रिय बनेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images