काठमाडौं – नयाँ आन्दोलनको कार्यक्रम तय गर्न बोलाइएको राजावादी भेलामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन अनुपस्थित भएपछि ठुलै असन्तोष र होहल्ला भयो। प्रमुख नेताको अनुपस्थितिले कार्यकर्तामा निराशा छाउँदा कार्यक्रम अव्यवस्थित ढंगले टुंगिएको छ।
भेलामा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई बोल्न समय दिइएपछि उपस्थित भीडमा गडबडी सुरू भयो। त्यसपछि संयुक्त जनआन्दोलन समितिका अध्यक्ष नवराज सुवेदीले आफैं माइक समातेर कार्यक्रमलाई सम्हाल्ने प्रयास गरे। उनले सीमित सदस्यहरूको समिति बनाएर नयाँ आन्दोलन कार्यक्रम तय गरिने भन्दै भेला स्थगित भएको घोषणा गरे।
कार्यक्रम सुरू हुने नै बेला लिङदेन संसद्मा व्यस्त भएकाले उपस्थित हुन नसकेको जानकारी दिइएको थियो। तर कार्यकर्ताहरूले भने संसदमा सहभागी हुनेहरूबाट आन्दोलनको नेतृत्व असम्भव हुने तर्क गर्दै तीव्र असन्तुष्टि व्यक्त गरे।
त्यस्तै, केही कार्यकर्ताले नवराज सुवेदीप्रति समेत नेतृत्वमा कमजोरी देखिएको आरोप लगाए। ‘न नेता स्पष्ट, न योजना ठोस’ भन्दै धेरैले कार्यक्रम अव्यवस्थित र दिशाहीन भएको गुनासो पोखे।
कार्यक्रमको अर्को विवादास्पद पक्ष भनेको पत्रकारहरूलाई भेलाभित्र प्रवेश दिइनु थियो। यसप्रति पनि केही कार्यकर्ताले खुलेर आपत्ति जनाए।
यसैबिच राजावादी मोर्चाको आन्तरिक द्वन्द्व र नेतृत्वको अस्पष्टताले आन्दोलनको आगामी योजना अन्योलमा परेको देखिन्छ।






















