काठमाडौं – नेकपा माओवादी केन्द्रनिकट युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को तेस्रो राष्ट्रिय सम्मेलन नेतृत्व चयनको अन्योलका बीच जारी छ। सम्मेलन सुरु भइसकेको भए पनि प्रतिनिधिहरूको टुंगो अझै लागिसकेको छैन।
संगठनले सहमतिमार्फत नयाँ नेतृत्व चयन गर्ने प्रयास गरिरहेको छ। तर सहमति जुट्न नसके आजै मतदान प्रक्रियामा जाने तयारी भइरहेको वाईसीएल इञ्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ले जानकारी दिए। उनका अनुसार प्रतिनिधि रुजु गर्ने काम अहिले चलिरहेको छ। ‘प्रतिनिधि टुंगो लागेपछि मात्रै हामी सहमति कि निर्वाचन भन्ने दिशामा जान्छौं,’ उनले भने।
महाधिवेशनका लागि प्रारम्भिक रूपमा १६ सय नामको सूची तयार गरिएको थियो। तर, अन्तिम प्रतिनिधिको संख्या सःशुल्क कार्ड लिने आधारमा तय हुँदैछ। हालसम्म एक हजारदेखि १२ सयबीचमा प्रतिनिधि रहने अनुमान गरिएको छ।
आइतबारबाट सुरु भएको सम्मेलनमा अध्यक्ष पदका लागि १३ जनाले आकांक्षा देखाएका छन्। केन्द्रीय समिति र पदाधिकारी बैठकमा नाम संकलन गर्दा यति धेरै आकांक्षी देखिएको हो। महासचिवमा ८ जनाको दाबी छ भने अन्य पदाधिकारी पदका लागि ९९ जनाले इच्छा व्यक्त गरेका छन्।
अध्यक्ष पदका प्रमुख आकांक्षीहरूमध्ये उपाध्यक्ष केहरसिंह कुँवर, उपमहासचिव पुष्प ओली, सचिवहरू नवराज ऐर, गणेश शाही, कर्म पुलामी, माधव बस्नेत, प्रेम श्रेष्ठ र ठाकुर सौराग छन्। तीमध्ये कुँवर, ओली, ऐर, शाही र पुलामीलाई बलियो प्रतिस्पर्धीका रूपमा हेरिएको छ।
संगठनभित्र सहमतिको प्रयास जारी रहे पनि आवश्यक परे निर्वाचनबाट नेतृत्व चयन गर्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका छन्। दीपशिखाका अनुसार प्रतिनिधिहरूको अन्तिम टुंगो लागेपछि सहमतिको अन्तिम प्रयास गरिनेछ। यदि त्यो सफल भएन भने आजै निर्वाचन प्रक्रियामा जाने तय गरिएको छ।






















