images
images
  • भिजिट भिसा प्रकरण : ९ अधिकृतसहित १७ जनालाई सफाइ, ३ बिचौलियालाई सजाय

    काठमाडौं – काठमाडौं जिल्ला अदालतले भिजिट भिसा सेटिङ प्रकरणमा संलग्न रहेको अभियोग लागेका अध्यागमन कार्यालयका ९ अधिकृतसहित १७ जनालाई सफाइ दिएको छ। अदालतले गीता शाह, अरुण दाहाल र सरोजकुमार यादवलाई दोषी ठहर गर्दै कैद र जरिवानाको सजाय सुनाएको छ।

    सरकारी वकिल कार्यालयले २२ जनाविरुद्ध लिखत किर्ते र संगठित अपराधको मुद्दा दायर गरेको थियो। अदालतले अन्यको संलग्नता पुष्टि नभएको भन्दै सफाइ दिएको हो।

    २०७९ कात्तिकमा त्रिभुवन विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेका दुई महिलाको पक्राउसँगै मानव तस्करीको शंका उठेको थियो। अनुसन्धानमा नक्कली श्रम स्वीकृति, प्रहरी रिपोर्ट प्रयोग गरी विदेश पठाउने गिरोह सक्रिय रहेको खुलेको थियो।

    तीन दोषी ठहर भएकामध्ये शाह र दाहाललाई जनही ६ महिना कैद र २० हजार जरिवाना तथा यादवलाई ४ महिना कैद र १४ हजार जरिवाना तोकिएको छ। अदालतले संगठित अपराध पुष्टि नभएको भन्दै मुद्दालाई किर्ते आरोपमा सीमित राखेको छ। फैसलाविरुद्ध ७० दिनभित्र उच्च अदालतमा पुनरावेदन गर्न सकिने बताइएको छ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images