images
images
  • उपकुलपति कार्यालय तोडफोड प्रकरण : त्रिवि घटनाको अनुसन्धानमा, प्रहरीले माग्यो किटानी जाहेरी

    काठमाडौं – त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा खड्ग केसीको कार्यकक्षमा भएको तोडफोडको विषयमा प्रहरीले किटानी जाहेरी मागेको छ ।

    गत १४ जेठमा नेविसघं निकट विद्यार्थीहरूले उपकुलपति केसीको कार्यकक्षमा तोडफोड गरेका थिए । त्रिविले घटनाको अनुसन्धान गर्न प्रहरी वृत कीर्तिपुरमा निवेदन दिएको छ । तर, प्रहरीले किटानी जाहेरी माग गरेको छ ।

    ‘किटानी जाहेरी आएको छैन । किटानी जाहेरी दिन त्रिविलाई पत्र लेखेर पठाएका छौँ । जाहेरी बिना अगाडि बढ्न अफ्ठ्यारो भएको हो,’ प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक राजबाबु महर्जनले भने ।

    सीसीटीभी फुटेजको आधारमा अनुसन्धान भने भइरहेको वृत्तले जनाएको छ । स्नातक पहिलो वर्षको भर्ना खुलाउन माग गर्दै काठमाडौं उपत्यकाका विभिन्न क्याम्पसका नेविसंघबाट निर्वाचित भएका स्ववियुका विद्यार्थी नेता उपकुलपति कार्यालय गएका थिए । उपकुलपति केसी कार्यकक्षमा नभएको समयमा तोडफोड भएको थियो ।

    उक्त घटनापछि उपकुलपति केसी कार्यकक्षमा गएका छैनन् । ‘त्यो दिनदेखि भीसीसर आउनु भएको छैन,’ उपकुलपति कार्यालयका एक कर्मचारीले भने, ‘विद्यार्थीबाट धम्की आइरहन्छ कसरी आउनु ?’

    यसपटक त्रिविको कार्यकारी परिषद्ले नै विश्वविद्यालयको सम्पत्तिमा क्षति पुर्याउनेलाई कारबाही हुनुपर्ने निर्णय गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images