images
images
  • आसाम बाढी पहिरोमा मृत्यु हुनेको संख्या १२ पुग्यो, १२ सय गाउँ डुबानमा

    काठमाडौं – भारतको पूर्वी राज्य आसाममा पछिल्लो चार दिनमा बाढी पहिरोबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

    २२ जिल्लाका १ हजार २५४ गाउँहरू डुबानमा परेको आसाम राज्य विपद् व्यवस्थापन प्राधिकरणलाई उदृत गर्दै बीबीसी हिन्दीले लेखेको छ । बाढीबाट सबैभन्दा बढी क्षति श्रीभूमि, कछार, हैलाकांडी, लखिमपुर र नगाउँ छन् ।

    विपद् विभागका एक अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा बाढीमा डुबेर थप दुई जनाको मृत्यु भएको छ ।

    आसाममा बाढीको अवस्था बिग्रँदै गएपछि मंगलबार प्रधानमन्त्री नरेन्द्र मोदीले मुख्यमन्त्री हेमन्त विश्वशर्मालाई फोन गरेर बाढीले पुर्याएको क्षतिबारे जानकारी लिएका छन् ।

    प्रधानमन्त्री मोदीले बाढी प्रभावित क्षेत्रमा केन्द्र सरकारले सहयोग गर्ने आश्वासन दिएका छन् ।

    विपद् व्यवस्थापन प्राधिकरणका अनुसार २ जुन साँझ यता बाढी पहिरोबाट आसाममा २ लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । जबकि करिब ३२ हजार मानिसका घरहरू पूर्ण रूपमा डुबानमा परेका छन् ।

    बाढी पहिरो प्रभावितहरू बस्नका लागि स्थानीय प्रशासनले विभिन्न स्थानमा ३२२ राहत शिविरहरू स्थापना गरेको छ।

    विगत पाँच दिनदेखिको निरन्तर वर्षका कारण भारतका धेरै उत्तरपूर्वी राज्यहरूमा बाढी र पहिरोका धेरै घटनाहरू भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    आसाम बाहेक सबैभन्दा बढी प्रभावित राज्यहरूमा मिजोरम, मणिपुर, त्रिपुरा र अरुणाचल प्रदेश छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images