images
images
  • तिला गाउँपालिकाका वडाध्यक्षमाथि चक्कु प्रहार, कर्णाली शिक्षण अस्पतालमा उपचार हुँदै

    जुम्ला – जुम्लाको तिला गाउँपालिका–५ का वडाध्यक्ष ललितबहादुर शाहीमाथि चक्कु प्रहार भएको छ । घाइते वडाध्यक्ष शाहीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ ।

    तिला–४ मा विकास आयोजनाको अनुगमन सकेर घर फर्कने क्रममा आफूमाथि चक्कु प्रहार भएको वडाध्यक्ष शाहीले बताए । ‘घर फर्किंदै थियौं, एक्कासि चक्कु प्रहार भयो,’ उनले भने, ‘उनीहरुसँग कुनै प्रकारको विवाद थिएन । अब कानुनी प्रक्रिया अघि बढाउनुको विकल्प रहेन । ज्यान मार्ने उद्योगमा जाहेरी दिने तयारी भइरहेको छ ।’ वडाध्यक्ष शाहीको शरीरका विभिन्न भागमा १७ स्थानमा टाँका लगाइएको छ ।

    तिला–३ का लक्की बुढा, तिला–४ का सुधन शाही र सुशील शाहीले चक्कु प्रहार गरेको उनको भनाइ छ ।

    उनीसँगै रहेका तिला-४ का वडाध्यक्ष धनबहादुर शाहीमाथि पनि उनीहरुले ढुंगा प्रहार गरेका थिए । उनको टाउकामा हेलमेट भएकोले चोटपटक लागेन । ‘उनीहरुको नियत ज्यान मार्ने उद्देश्यकै रहेको देखियो,’ धनबहादुरले भने ।

    चक्कु प्रहार गर्ने युवाविरुद्ध निवेदन परेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डीएसपी रविनबाबु रेग्मीले बताए ।

    घाइते वडाध्यक्ष भेट्न गाउँपालिका अध्यक्ष मोतीलाल रोकाया र उपाध्यक्ष कल्पना बुढा अस्पताल पुगेका थिए । उनीहरुले दोषीउपर कडा कारबाहीको माग गरेका छन् ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images