images
images
  • नेपाली रेल सेवा दुई महिना बन्द

    काठमाडौं ः जनकपुर–जयनगर रेलमार्गमा साढे तीन वर्षदेखि सञ्चालन हुँदै आएको नेपालको राष्ट्रिय झन्डाअङ्कित दुई वटा रेलमा यात्रुले आइतबारदेखि करिब दुई महिनासम्म यात्रा गर्न नपाउने भएका छन्।

    यो अवधिमा यात्रुले नेपालको झन्डाअङ्कित रेलको सट्टा पहेँलो रङका भारतीय रेलमा यात्रा गर्न पाउने भएका छन्।

    नेपाल रेल्ले कम्पनी (जनकपुर) का प्रशासन प्रमुख तुलाबहादुर डाँगीले भने, “नेपालको झन्डाअङ्कित रेल आइतबार बिहानै जनकपुरबाट यात्रु लिएर जयनगर जाने छन्। त्यहाँ यात्रु झारेर मर्मतसम्भारका लागि भारतको लखनउ जाने छन्। त्यहाँ करिब दुई महिनासम्म मर्मतसम्भारपछि सो रेल पुनः जनकपुर आई सञ्चालनमा आउने छन्।”

    उहाँका अनुसार सो रेलमार्गमा नेपाली रेलको सट्टा पहेँलो रङको ‘शाकुरबस्ती’ नामको भारतीय रेलले सेवा प्रदान गर्ने छ। वैकल्पिक सेवा दिनका लागि आएको भारतीय रेल अहिले नेपालको इनरुवा स्टेसनमा राखिएको छ। भारतले निःशुल्क रूपमा सो रेल पठाएको उहाँले बताउनुभयो।

    २०७६ असोजमा जनकपुर आइपुगेका भारतको कोंकण रेलवेबाट नेपालले खरिद गरेको दुई वटा रेल २०७८ चैत २० गते उद्घाटन भई सञ्चालनमा आएको थियो। नेपालले करिब ८४ करोड रुपियाँमा भारतबाट ती दुई वटा रेल खरिद गरेको थियो।

    प्रशासन प्रमुख डाँगीले भारत सरकारकै आर्थिक तथा प्राविधिक सहयोगमा रेलको मर्मतसम्भार हुन लागेको जानकारी दिनुभयो। मर्मतका लागि नेपाली रेल लखनउसम्म लैजाँदा र ल्याउँदा लाग्ने खर्च, ट्र्याक खर्च, लैजाँदा ल्याउँदा लाग्ने जनशक्ति खर्च, त्यसमा लाग्ने इन्धन खर्च, मर्मतमा लाग्ने प्राविधिक तथा उपकरणलगायतका सबै खर्च भारतले नै बेहोर्ने प्रशासन प्रमुख डाँगीले जानकारी दिनुभयो। उहाँका अनुसार नेपालको शून्य लागतमा दुई वटै रेलको मर्मतसम्भार हुन लागेको हो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images