काठमाडौं –सवारी चालक अनुमतिपत्र ९लाइसेन्स०को छपाइ सुरक्षण मुद्रण केन्द्रले गर्ने भएको छ। यस सम्वन्धमा यातायात व्यवस्था विभाग र केन्द्रबिच समझदारी पत्रमा हस्ताक्षर भएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले सञ्चार तथा सुचना प्रविधि मन्त्रालयअन्तर्गतको मुद्रण केन्द्रमार्फत चालक अनुमतिपत्र छपाई गर्ने भएको हो।
नवीकरण गरिएको समेत लामो समयसम्म सवारी चालक अनुमतिपत्र नपाउँदा सर्वसाधारणले समस्या भोग्नु परेको भन्दै यसको समाधान खोज्न भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालले विभागलाई पटकपटक निर्देशन दिएका थिए। तत्काल अनुमति पत्र नपाउँदा राजश्व तिरेको रसिद बोकेर हिँड्नुपर्ने बाध्यताको अन्त्यका लागि नागरिक एपमा चालक अनुमतिपत्र समावेश समेत गरिएको छ। हाल सोहि एपमार्फत ट्राफिक प्रहरीले नियमन गर्ने तथा जरिवाना भुक्तानी गराउने कार्य समेत गर्दै आएको छ।
दिगो समाधानका लागि समयमा नै सवारी चालक अनुमतिपत्र छपाइ नै गर्नुपर्ने भन्दै मन्त्री दाहालले चुस्त र छिटो सेवा उपलव्ध गराउने विकल्प खोजी गर्न निर्देशन दिएका थिए। सरकारी निकायहरुविचमा नै सहकार्य गरी सवारी चालक अनुमतिपत्र छपाइको विकल्प खोजी गर्ने क्रममा केहि दिनअघि दुवै मन्त्रालयका सचिवसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहाल र सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वी सुव्वा गुरुङविच छलफलसमेत भएको थियो। दुई सरकारी निकायविचको सहकार्यले सवारी चालक छपाई कार्य चुस्त र पारदर्शी हुने अपेक्षा गरिएको छ।
दुवै पक्षविच भएको समझदारीअनुसार सुरक्षण मुद्रण केन्द्रले आगामी असार मसान्तभित्रमा प्रथम चरणको छपाई गरी विभागलाई हस्तान्तरण गर्ने छ। समझदारी पत्रमा सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगाना तथा यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेलले हस्ताक्षर गरेका छन्। अब सुरक्षण मुद्रण केन्द्रले क्युआरसहितका विभिन्न सुरक्षा विशेषतासहितको सवारी चालक अनुमति पत्र छपाई गर्ने छ।


विश्व खबर 




















