काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ मन्त्रिपरिषद् बैठक बोलाएका छन्। नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयमा सत्ता गठबन्धनभित्र सहमति नजुटेपछि यसअघि सोमबारका लागि तय गरिएको मन्त्रिपरिषद् बैठक स्थगित गरिएको थियो।
सोमबार प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचको छलफल बिना निष्कर्ष टुंगिएको थियो। तर मंगलबार दुवै नेताबीच करिब एक घण्टा लामो छलफलपछि सहमति जुटेपछि मन्त्रिपरिषद् बैठक बसेको हो।
सरकारले गभर्नर नियुक्तिको तयारी थालेसँगै गभर्नर सिफारिस समितिले पनि मंगलबार तीन जनाको नाम सिफारिस गरेको छ। तीमध्ये पहिलो नम्बरमा अर्थशास्त्री प्रा.डा. विश्व पौडेलको नाम परेको छ।
विश्व पौडेल कांग्रेस निकट मानिन्छन्, र ओली–देउवा सहमति अनुसार उनलाई नै गभर्नर नियुक्त गरिने नेताहरूको भनाइ छ।
यसअघि पौडेलविरुद्ध सर्वोच्च अदालतमा दर्ता प्रयास गरिएको रिट निवेदन दरपीठ गर्ने निर्णय पनि मङ्गलबार नै सार्वजनिक भएको थियो, जसले सरकारलाई उनको नियुक्तिमा सहजता ल्याएको छ।


विश्व खबर 




















