images
images
  • स्याउ बोक्ने कन्टेनरबाट साढे ७ किलो सुन बरामद, रसुवाको केरुङ नाकाबाट तस्करी प्रयास

    रसुवा – रसुवाको केरुङ नाकाबाट स्याउ ल्याउने नाममा सुन तस्करीको प्रयास विफल भएको छ। जिल्ला प्रहरी कार्यालय रसुवाको टोलीले आइतबार स्याउ बोकेको कन्टेनरबाट ७ किलो ६५३ ग्राम सुन बरामद गरेको हो।

    ना ४ ख ६२०१ नम्बरको कन्टेनरमा फल्स बटम (नक्कली तल्लो भाग) बनाएर सुन लुकाइएको थियो। सुराकीको आधारमा प्रहरीले जाँच गर्दा उक्त सुन फेला परेको हो। कन्टेनर चीनको केरुङ नाका हुँदै नेपाल प्रवेश गरेको थियो।

    रसुवा प्रहरी प्रमुख डीएसपी हेमबहादुर शाहीले सुन बरामद भएको पुष्टि गरेका छन्। यद्यपि, अनुसन्धान जारी रहेकाले विस्तृत विवरण दिन अस्वीकार गरे। प्रहरी स्रोतका अनुसार, घटनासँग सम्बन्धित एक जना पक्राउ परेका छन् तर हालसम्म उनको नाम सार्वजनिक गरिएको छैन।

    ‘ड्राइभर बस्ने ठाउँको माथिल्लो भागमा फल्स बटम बनाएर सुन ल्याइएको थियो,’ प्रहरी स्रोतले जानकारी दिएको छ।

    उत्तरी नाका हुँदै बढ्दो सुन तस्करी

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निगरानी कडा बनाइएपछि सुन तस्करी गर्ने गिरोहहरू अब उत्तरी नाका हुँदै ठूलो परिमाणमा सुन भित्र्याउने प्रवृत्तिमा देखिएका छन्। विमानस्थलबाट वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई प्रयोग गरी सानो परिमाणको सुन ल्याइने गरिएको छ भने केरुङ जस्ता स्थल नाकाबाट भने किलोका दरमा सुन भित्र्याउने गरिएको छ।

    भारत पुर्याउने प्रयास

    नेपालबाट बरामद हुने अधिकांश अवैध सुनको गन्तव्य भारत भएको पाइएको छ। यो घटनाले नेपालमा रहेका अन्तर्राष्ट्रिय तस्कर सञ्जालहरूको सक्रियता र सशक्त नेटवर्कको सङ्केत गर्छ।

    अनुसन्धान जारी

    बरामद गरिएको सुनलाई परीक्षणका लागि पठाइएको छ भने पक्राउ परेका व्यक्तिलाई विस्तृत अनुसन्धानका लागि रसुवातर्फै राखिएको प्रहरीले जनाएको छ। तस्करीमा संलग्न सम्भावित गिरोहबारे अनुसन्धान अघि बढाइएको छ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images