images
images
  • खेलमा अग्रस्थानमा पुग्न समय सापेक्ष परिवर्तनलाई आत्मसात् गर्न जरुरी छ : खगेनसिं हाङगाम

    सुनसरी – कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिं हाङगामले खेलमा अग्रस्थानमा पुग्नका लागि समय सापेक्ष परिवर्तनलाई आत्मसात् गर्दै अगाडि बढ्न जरुरी रहेको बताएका छन् ।

    कोशी प्रदेश फुटबल संघद्वारा आज यहाँ आयोजित ‘एशियाली फुटबल काउन्सिल ९एएफसी० लाइसेन्स ‘डी’ तहको सामुदायिक फुटबल प्रशिक्षक तालिमको उद्घाटन गर्दै मन्त्री हाङ्गामले खेलाडीबाट प्रशिक्षक बन्नु जीवनको महत्त्वपूर्ण पाटो भएको उल्लेख गरे। उनले भने, “फुटबल अब हिजोको जस्तो सजिलो खेल रहेन । समयसँगै खेलको स्वरूप मात्र होइन, प्रतिस्पर्धा र दक्षताको मापदण्ड पनि बदलिएको छ ।”

    फुटबल प्रशिक्षक भएर नयाँ पुस्ता तयार गर्नु चुनौतीपूर्ण कार्य भएको उनले बताए । “हिजोको समयमा हामी मोजाको बल बनाएर खाली खुट्टा खेल्थ्यौँ । तर अहिलेको पुस्ता आधुनिक जुत्ता र प्रविधिमैत्री बलको पहुँचसम्म पुगेको छ”, उनले भने ।

    कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले नेपालको लक्ष्य दश वर्षभित्र विश्वकप फुटबलको प्रतिस्पर्धामा नेपालको सम्मानजनक उपस्थिति सुनिश्चित गर्नु रहेको बताए। सो लक्ष्यमा पुग्न नेपाली फुटबललाई व्यवसायीकरण गर्न जरुरी रहेको उनले बताए ।

    अखिल नेपाल फुटबल संघ९एन्फा० का केन्द्रीय सदस्य दिपेन्द्र धिमालका अनुसार धरानस्थित एन्फा टेक्निकल सेन्टरमा चार दिनसम्म चल्ने आवासीय प्रशिक्षणमा कोशी प्रदेशका विभिन्न जिल्लाका ६० प्रशिक्षार्थी सहभागी छन् । एएफसी लाइसेन्स ‘डी’ को प्रशिक्षण सफलतापूर्वक सम्पन्न गरेका प्रशिक्षक एएफसीबाट मान्यता प्राप्त हुनेछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images