काठमाडौं । भारत–पाकिस्तान सीमामा पछिल्लो समय चुलिँदो सैन्य तनावले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूको जीवन त्रासपूर्ण बन्दै गएको छ।
लाहोर, फैसलाबाद, मुल्तान, कराँची, सियालकोटजस्ता सहरहरूमा रहेका सयौं नेपाली विद्यार्थी अहिले सुरक्षितरूपमा नेपाल फर्कन सक्ने उपाय खोजिरहेका छन्।
‘अब के हुने हो? मरिन्छ कि बाँचिन्छ?’ लाहोरमा मेडिकल पढिरहेका एक नेपाली विद्यार्थीको दुखेसो थियो। उनले भने, ‘ड्रोनको आवाज, साइरन र धमाका सुनिन थालेपछि रात कटाउन सक्दैनौं।’
सैन्य तनाव बढेपछि पाकिस्तानका धेरै विश्वविद्यालय बन्द भएका छन्। लाहोरमा मात्रै करिब २०० नेपाली विद्यार्थी रहेको अनुमान गरिएको छ। तीमध्ये अधिकांश मेडिकल र इन्जिनियरिङ अध्ययनरत छन्।
‘नेपालबाट जहाज आए हुन्थ्यो’
नेपाल फर्कन इच्छुक विद्यार्थीहरूले हवाइ टिकट पाउन सकिरहेका छैनन्। धेरैले भ्याकेसनको समयमा स्वदेश फर्कने योजना बनाए पनि टिकट नपाउँदा अलपत्र परेका छन्। ‘दूतावासमा भनिरहेका छौँ, नेपालबाट जहाज आए हुन्थ्यो,’ अर्का विद्यार्थीको आग्रह थियो।
भारतको हिमाञ्चल प्रदेशस्थित चित्कारा विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूले पनि उस्तै याचना गरेका छन्। ‘हाम्रो विश्वविद्यालयका शिक्षक र कर्मचारी पहिले नै गइसके,’ विद्यार्थी समुन्द्र पौडेलले भने, ‘हामी टाढाबाट आएका विद्यार्थी राति डराउँदै बस्न बाध्य छौं।’
उनका अनुसार विश्वविद्यालय प्रशासनले परीक्षाबारे समेत कुनै सूचना दिएको छैन। ‘अब के हुन्छ भनेर केही अत्तोपत्तो छैन,’ उनले भने।
दूतावासको समन्वय
पाकिस्तानस्थित नेपाली दूतावासले भने सम्पर्कमा आएका विद्यार्थीहरूलाई सान्त्वना दिँदै समन्वय गरिरहेको जनाएको छ। इस्लामावादस्थित दूतावासकी सचिव वृन्दा सुवेदी खड्काका अनुसार, ‘विद्यार्थीहरू डर र त्रासमा हुनुहुन्छ, हामी निरन्तर संवादमा छौं।’
नेपाल सरकारको परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै पाकिस्तानमा रहेका सम्पूर्ण नेपाली नागरिक, विशेष गरी विद्यार्थीहरूको सुरक्षाप्रति सरकार सचेत रहेको जनाएको छ।
‘जोखिममा जीवन, फर्किन गाडी पनि छैन’
भारतको चण्डीगढ क्षेत्रका विद्यार्थीहरू पनि अत्यधिक त्रासमा छन्। ‘हामी चण्डीगढदेखि ३० किलोमिटर टाढा छौं, जुन क्षेत्र पनि जोखिममा परेको छ,’ गुप्ता नाम गरेका एक विद्यार्थीले भने। उनका अनुसार बसपार्कमा दोब्बर भाडा तिरे पनि गाडी पाउन सकिएको छैन।
बुटवल, जनकपुर, विराटनगर, धनगढी र काठमाडौंका विद्यार्थीहरू अध्ययनरत रहेको चित्कारा विश्वविद्यालयमा अब मात्र वार्डेन र मेस कर्मचारीहरू बाँकी छन्।
भारत–पाकिस्तानबीचको तनाव चुलिँदै जाँदा त्यहाँ रहेका नेपाली विद्यार्थीहरूको मानसिक स्वास्थ्य, शैक्षिक भविष्य र ज्यानको सुरक्षामाथि प्रश्न खडा भएको छ। उनीहरू नेपाल सरकारसँग उद्धारको अपेक्षा गरिरहेका छन्।























