images
images
  • पहलगाम घटना प्रकरण : भारत युद्धको सम्मुखमा पुगेकै अवस्थामा पाकिस्तानले गर्‍यो ब्यालिस्टिक मिसाइलको परीक्षण

    भारतसँग तनाव बढिरहेको बेला पाकिस्तानले ब्यालिस्टिक मिसाइलको परीक्षण गरेको छ ।

    भारतको जम्मू(कस्मिरस्थित पहलगाम क्षेत्रमा आतंकवादी समूहले २६ जनाको हत्या गरेपछि दुई देशबीचको सम्बन्ध बिग्रिएको छ । पहलगामको पर्यटकीय क्षेत्रमा अप्रिल २२ मा आतंककारी हमला हुँदा बुटवलका सुदीप न्यौपानेसहित २६ जनाको मृत्यु भएको थियो ।

    यस्तोमा पाकिस्तानी सेनाले जमिनदेखि जमिनसम्म प्रहार गर्न मिल्ने ब्यालिस्टिक मिसाइलको शनिबार परीक्षण गरेको हो । सो मिसाइलले करिब २८० माइलको दूरीसम्म प्रहार गर्न सक्ने पाकिस्तानले जनाएको छ ।

    पाकिस्तानले मिसाइल परीक्षण गर्दा भारतसँगको सीमा क्षेत्रतर्फ नगरेर सामान्यतया अरब सागर वा दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको मरूभूमितर्फ प्रक्षेपण गर्छ ।

    अब्दाली हतियार प्रणाली अन्तर्गतको सो मिसाइलको परीक्षण सेना परिचालनको तयारी र मिसाइलको उन्नत ‘नेभिगेसन’ (जहाज चलाउने) प्रणाली सुनिश्चित गर्नका लागि गरिएको पाकिस्तानी सेनाले जनाएको छ ।

    पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारी र प्रधानमन्त्री शहबाज शरीफले सफल परीक्षणका लागि त्यसमा संलग्न सबैलाई बधाई दिएका छन् ।

    पहलगाममा भएको आतंकवादी हमलाको दोष दिँदै भारतले पाकिस्तानमाथि प्रहार गर्ने धम्की दिइरहेको बेला भारतलाई त्यस्तो नगर्ने सन्देश दिन यो परीक्षण गरिएको मानिन्छ ।

    भारतको नौसेनाले पनि अप्रिल २७ मा आफ्ना जहाजहरूले लामो दूरीको सटीक प्रहार गरेर सफलतापूर्वक जहाज डुबाउने फायरिङको अभ्यास गरेको थियो ।

    भारतसँग तनाव बढिरहँदा गत हप्ता पाकिस्तानी रक्षामन्त्री ख्वाजा मुहम्मद आसिफले युद्ध हुने खतरा भएको चेतावनी दिएका थिए ।

    चीन, साउदी अरब र अन्य खाडी राष्ट्रहरूले दुई देशबीच युद्ध रोक्न प्रयास गरिरहेका छन् । संयुक्त राष्ट्रसंघले पनि भारत र पाकिस्तानलाई संयमता अपनाउन अनुरोध गरिसकेको छ ।

    दुई देशबीच तनाव बढिरहेको बेला सीमा क्षेत्रमा दुई पक्षबीच गोली हानाहान समेत भएको थियो । कस्मिरको विवादित सीमा क्षेत्रमा भारतको एक जासुसी ड्रोन खसालेको पनि पाकिस्तानले दाबी गरेको थियो ।

    सो मानव रहित ड्रोनले कस्मिरको कथित नियन्त्रण रेखा उल्लंघन गरेपछि खसालिएको भनेर पाकिस्तानको सरकारी टेलिभिजन च्यानलले रक्षा अधिकारीहरूको हवाला दिँदै जनाएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images