images
images
  • शिक्षकको शान्तिपूर्ण आन्दोनमाथि प्रहरीद्वारा पानीको फोहोरा प्रहार, १५ जना शिक्षक घाइते

    काठमाडौं । शिक्षकहरूको आन्दोलनमाथि सरकारले प्रहरी बल प्रयोग गरेको छ ।

    गत चैत २० गतेदेखि आन्दोलित शिक्षकहरूमाथि आज (आइतबार) सरकारले प्रहरी बल प्रयोग गरेको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए ।

    उनले भने, ‘शिक्षकको सौम्य र शान्तिपूर्ण आन्दोलनमाथि प्रहरीले बल प्रयोग गरेको छ । यो हाम्रो लागि सह्य विषय होइन । शिक्षकका माग सम्बोधन गर्नुको साटो सरकारले बल प्रयोग गर्नु सरकारकै गैरजिम्मेवारीपन हो ।’

    सुवेदीले आन्दोलनमा सरकारले घुसपैठ गराएको आरोपसमेत लगाएका छन् । केहीबेर अघि शिक्षक आन्दोलनको सभालाई सम्बोधन गर्नेक्रममा अध्यक्ष सुवेदीले आफ्ना माग पूरा नभएसम्म आफूहरू विद्यालय नफर्किने बताएका छन् ।

    ‘हामी शिक्षक हौँ । लाठी छैन, केही छैन । शान्त आन्दोलनकारीलाई भड्काउन घुसपैठी पठाएर नांगोपना उदांगो भयो । सरकारले नांगोरूप देखायो । यस्ता सरकार के, हजुरबाबु सरकार आएपनि दमन गर्न सक्दैन,’ सुवेदीले भने, ‘हेक्का रहोस्, हरेक शिक्षक ज्यान दिन तयार छ । हाम्रो आन्दोलनलाई कमजोर ठान्ने दुस्साहस नगरियोस् ।’

    आज दिउँसो शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा एक्कासी प्रहरीले पानीको फोहोरा प्रहार गरेको थियो । त्यसपछि शिक्षक आक्रामक बनेपछि प्रहरीसँग झडप भएको महासंघले जनाएको छ ।

    उक्त झडपमा १५ जना शिक्षक घाइते भएको महासंघले जनाएको छ ।

    भोलिदेखि नै नेपाल शिक्षक महासंघले देशैभरका सामुदायिक तथा निजी विद्यालयका शिक्षक काठमाडौं उतार्ने तयारी गरेको अध्यक्ष सुवेदीले चेतावनी दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images