images
images
  • देउवा स्वदेश फर्केसँगै सत्तापलट क्षीण, कांग्रेस–एमालेको संवादले माओवादी ब्याक

    काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पती थाइल्याण्डको भ्रमण र स्वास्थ्योपचार पश्चात् शुक्रबार स्वदेश फर्किएका छन् ।

    आइतबार देउवा र उनकी पत्नी एवं परराष्ट्रमन्त्री डा.आरजु राणाको थाइल्याण्ड प्रस्थानसँगै सरकार फेरबदल हुनसक्ने चर्चा एकाएक चुलिएको थियो । कांग्रेस–एमाले लगायतका केही साना दलहरूको गठजोडबाट बनेको दुईतिहाइको बलियो सरकार फेरबदलको चर्चाले राजनीतिक वृत्त नराम्ररी हल्लियो ।

    तर, देउवा शुक्रबार दिउँसो स्वदेश फर्केसँगै सरकार फेरबदलको चर्चा एकाएक साम्य भएको छ । बिहीबारसम्मै चुलिएको उक्त चर्चाको खण्डन देउवा दम्पतीले गरेका छन् ।

    शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्त्रारकर्मीसँगको संक्षिप्त संवादमा देउवाले ‘कांग्रेस–एमाले नेतृत्वको सत्ता गठबन्धन’ फेरबदल नहुने स्पष्ट पारे । सञ्चारकर्मीले सोधेको प्रश्नको संक्षिप्त जवाफ दिँदै उनले भने, ‘सत्ता समीकरण फेरबदल हुँदैन ।’

    सोही प्रश्न परराष्ट्रमन्त्री राणालाई पनि सोधिएको थियो । जवाफमा सरकार परिवर्तन रमाइलोका लागि गरिएको हल्ला हुनसक्ने बताइन् । यसबारेमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग थाइल्याण्डबाटै टेलिफोन संवाद गरेको मन्त्री राणाको भनाइ थियो ।

    ‘सरकार फेरबदल हुने हल्लापछि बिहीबार सभापति र प्रधानमन्त्रीबीच टेलिफोन संवाद भएको थियो । संवादमा दुवै जनाले सरकार परिवर्तन नियोजित हल्ला भएको कुरा भयो,’ उनले भनिन्, ‘देशमा सरकार परिवर्तनको हल्ला चलेछ । हामीले समाचारहरूमा देख्यौँ । तर, इन्टरटेन्मेन्टका लागि समाचार आउँछन् । सरकार परिवर्तन त नेपालभित्रै बसेर गर्ने होला, विदेशमा बसेर हुँदैन । यी कुरा सुन्दा हामी छक्क पर्यौँ ।’ यसका साथै मन्त्री राणाले थाइल्याण्डमा कोही कसैसँग राजनीतिक भेटघाट नभएको प्रष्ट्याइन् ।

    प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने विभिन्न पार्टीका सार्वजनिक कार्यक्रममै सरकार फेरबदल हुनेसक्ने बताउँदै आएका छन् । बिहीबार माओवादी केन्द्रको संसदीय दलको बैठकमा कांग्रेस–माओवादी सरकार गठनका लागि संवाद अघि बढाइने प्रचण्डको भनाइ उद्धृत गर्दै एक सांसदले सजिलो पत्रिकालाई बताए ।

    उनले आफ्नो नाम नखुलाउने सर्तमा भने, ‘कांग्रेस सभापति शेरबहादुर देउवा देश बाहिर भएकोले सत्ता सहकार्यका लागि संवाद हुन सकेको छैन । उहाँ स्वदेश फर्किएलगत्तै कांग्रेस–माओवादी नेतृत्वको गठबन्धन सरकार गठनका लागि संवाद गर्ने अध्यक्ष कमरेडले बैठकलाई ब्रिफिङ गर्नुभयो ।’

    प्रचण्डको भनाइलाई बल पुग्नेगरी प्रमुख सत्तारूढ कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र नेता एनपी साउदले प्रधानमन्त्री ओलीको सरकारी कामकारबाहीबारे गम्भीर प्रश्न गरेका छन् ।

    खड्काले सभापति स्वदेश फर्केलगत्तै प्रधानमन्त्रीसँग निर्णायक संवाद हुने बताएका छन् । उनको यो अभिव्यक्तिले सत्ता समीकरणको निरन्तरतामा प्रश्न उठेको छ । महामन्त्रीद्वय थापा र शर्माले प्रधानमन्त्री ओलीको कार्यशैलीको चर्को आलोचना गरेका छन् ।

    यदि प्रधानमन्त्रीको कार्यशैली नसच्चिए कांग्रेससँग एमालेको सत्ता यात्रामा विराम लाग्ने उनीहरूको चेतावनी छ । कांग्रेसका निर्णायक तहका नेताहरू नै सरकारको विरोधमा उत्रिएपछि प्रधानमन्त्री पनि झस्किएका छन् ।

    बिहीबार भृकुटीमण्डपमा आयोजित एमाले ‘यूथ सेलिब्रेसन’मा ओलीले आफू सरकार बचाउने र गिराउने ध्याउन्नमा नभएको अभिव्यक्ति दिएका थिए । ‘कांग्रेस–एमाले लगायतका दलहरूको सत्ता गठबन्धनको नेतृत्व मैले गरेको छु । सत्ता सहकार्यका लागि दुई दलबीच भएको सहमति अक्षरशः पालना गर्न एमाले तयार छ । म सरकार बचाउने र गिराउने ध्याउन्नमा छैन,’ उनले भने ।

    कार्यक्रम सकाएर बालुवाटार फर्केलगत्तै प्रधानमन्त्री र देउवाबीच झन्डै ७ मिनेट टेलिफोन संवाद भएको बालुवाटार उच्च स्रोत बताउँछ । स्रोतका अनुसार संवादको क्रममा ओलीले देउवालाई तपाईंको विदेश भ्रमणलाई लिएर सरकार फेरबदलको चर्चा चलेको छ, खासमा के हो ? भनेर सोधेका थिए । स्रोतका अनुसार जवाफमा देउवाले ओलीलाई विपक्षी र पत्रपत्रिकाका समाचारको पछि नलाग्नुहोस्, यो सबै हल्ला हो । म नेपाल आएपछि बसेर छलफल गरौँला ।

    प्रधानमन्त्री ओली र देउवाबीचको संवाद कहिले ?

    प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीबाट शेरबहादुर देउवा आजित छन् । तर उनी तत्काल सत्ता समीकरण फेरबदल गर्ने पक्षमा देखिँदैनन् ।

    एमाले उच्चस्रोतका अनुसार देउवा थाइल्याण्ड पुगेको भोलिपल्ट टेलिफोन संवाद भएको थियो । उनकै निर्देशनमा प्रधानमन्त्रीले कांग्रेसका उर्जा राज्यमन्त्री कान्छाराम तामाङलाई बर्खास्त गरेको देउवानिकट स्रोत बताउँछ ।

    ओलीको कार्यशैलीप्रति देउवाका केही मतैक्य भए पनि सघन संवाद हुँदैछ । संवादका लागि तत्काल समय निर्धारण गरिएको छैन । तर, छिट्टै दुई नेताबीच आपसी छलफल हुने सत्ता साझेदार दल नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले सजिलो पत्रिकालाई बताए ।

    ‘दुई शीर्ष नेताको संवाद र छलफलमार्फत सत्ताको सहजीकरणबारे छलफल हुनेछ । देउवा भर्खरै आउनुभएको छ । केही समय उहाँ आराम गर्नुहुन्छ । त्यसपछि छलफल हुनेछ । छलफलका लागि समय निर्धारण गरिएको छैन,’ बर्तौलाले भने ।

    विपक्षी माओवादी केन्द्र ब्याक

    कांग्रेस–एमाले नेतृत्वको सत्ता समीकरण फेरबदल नहुने देउवाको स्पष्टीकरणले प्रचण्ड हच्किएका छन् । देउवा दम्पतीले सरकार फेरबदल हुने हल्ला भएको बताएका छन् । त्यसयता माओवादी केन्द्र कांग्रेससँगको सत्ता समीकरणबाट ब्याक भएको छ ।

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बिहीबार आफ्नै निर्वाचन क्षेत्र गोरखा पुगेका थिए । गोरखामा आयोजित सहिदस्मृति कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा पनि उनले कांग्रेससँगको सत्ता सहकार्य तत्काललाई टरेको बताएका छन् ।

    ‘देउवा एमालेसँगको सत्ता समीकरण तोड्न तयार नभएकोले अहिले नै नयाँ सरकार गठन हुन्छ भन्न सकिँदैन । तर, यो सरकारको आयु धेरै लामो छैन । एक न एक दिन ढल्छ । त्यसको नेतृत्व हामीले गर्नुपर्ने हुनसक्छ,’ प्रचण्डले भने ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका विवादास्पद निर्णय र नियुक्ति, सरुवा बढुवाले सरकार चौतर्फी आलोचित बन्दै आएको छ । योसँग तत्काललाई सत्ता पलटको संकेत टेरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images