
काठमाडौं । प्रमुख सत्तारूढ कांग्रेससँग प्रतिपक्षी माओवादीले नयाँ सरकार गठनका लागि छलफल गर्ने भएको छ ।
आज (बिहीबार) संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस सभापति शेरबहादुर देउवा स्वदेश फर्किएलगत्तै कांग्रेस–माओवादी नेतृत्वको सरकार गठनका लागि छलफल गर्ने बताएका छन् ।
उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले उल्टो काम गरेर संविधान खारेज गर्ने दिशामा जान खोजेको देखिन्छ । संविधानको रक्षार्थ शेरबहादुर देउवाजी फर्किएपछि संवाद सुरु हुन्छ । सरकारबारे पनि कुरा हुन्छ ।’
शिक्षकका मागप्रति प्रधानमन्त्री ओली नै अनुदार रहेको टिप्पणी गरेका छन् । शिक्षकहरू विगत २३ दिनयता सडक आन्दोलनमा छन् । उनीहरूले शिक्षा विधेयक संसद्बाट अनुमोदन नभएसम्म विद्यालय नफर्किने बलियो अडान लिएका छन् भने आन्दोलन उत्कर्षमा पुर्याएका छन् ।
‘शिक्षक आन्दोलनबारे सरकार अनुदार देखिन्छ । उपसमितिमा बखेडा निकालेर अल्झाउन सक्छ । सरकारले नगरे प्रतिपक्षी दलहरूसँग मिलेर संकल्प वा कुनै प्रस्ताव पेस गर्ने हुन पनि सक्छ,’ प्रचण्डले भने ।
यसका साथै उनले निवर्तमान विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान सिघिङलाई पदबाट हटाएकोमा असन्तुष्टि जनाएका थिए । मेरिटोक्रेसीमार्फत् त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपति बनेका केशर बराललाई निरन्तर गरेको असहयोगका कारण राजीनामा दिन बाध्य भएको उनको टिप्पणी थियो ।
ओली सरकारको अकर्मण्यताले देशको अवस्था बिग्रह उन्मुख भएको भन्दै उनले चिन्ता व्यक्त गरे । संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र नै संकटमा परेको भन्दै चिन्ता व्यक्त गरेका थिए । यी अकर्मण्यताबाट दूर हुन कांग्रेस–माओवादी एक ठाउँमा उभिनुपर्ने उनको जोड थियो ।
शेरबहादुर देउवा स्वास्थ्योपचारका लागि थाइल्याण्डको बैंककमा छन् । उनी स्वदेश फर्केलगत्तै सत्ताको नयाँ कोर्ष आरम्भका लागि माओवादीले छलफल गर्नेछ ।
प्रधानमन्त्री ओलीसँग चिडिएका कांग्रेसका शीर्ष तहका नेताहरू सरकारको विकल्प खोज्नेतर्फ उन्मुख छन् । ओलीको मनमौजी प्रवृतिबाट आजित भएका कांग्रेस शीर्ष नेताहरू नै सरकारविरुद्ध अभिव्यक्ति दिइरहेका छन् ।
प्रमु्ख प्रतिपक्षी माओवादी भने ओलीबाट देशको भविष्य संकट उन्मुख भएको भन्दै कांग्रेससँग नयाँ सरकारका लागि लबिङ गरिरहेको कांग्रेसका एक शीर्ष नेता बताउँछन् ।
‘माओवादीका नेता साथीहरू बेलाबेला भेट्नुहुन्छ । हामीबीच धनीभूत छलफल नभएपनि अनौपचारिक कुराकानी हुन्छ । उहाँहरू सरकार परिवर्तनका लागि कति सम्भव छ भन्दै प्रश्न गर्नुहुन्छ,’ ती नेता भन्छन्, ‘तर, हामीले यसबारे ठोस निर्णय नगरेकोले उत्तर दिन सकेका छैनौँ ।’
प्रतिक्रिया दिनुहोस्