images
images
  • संसद् अधिवेशनको मुखैमा प्रतिपक्षीको आक्रामक निर्णय : सत्तापक्षसँग भिड्ने संकेत

    काठमाडौं । संघीय संसद्को दुवै सदनको बर्खे अधिवेशन भोलि (शुक्रबार)देखि प्रारम्भ हुँदैछ ।

    राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्रिपरिषद्को सिफारिसमा संसद्को दुवै सदनको अधिवेशन आह्वान भएकाले भोलि दिउँसो १ः०० बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा अधिवेशन सुरु हुनेछ ।

    नेपालका संविधानको धारा ९३ मा राष्ट्रपतिले समय–समयमा दुवै वा कुनै सदनका अधिवेशन आह्वान गर्ने व्यवस्था छ । तर, एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशनको प्रारम्भबीचको अवधि छ महिना भन्दाबढी हुन नहुने सवैधानिक व्यवस्था छ ।

    संसद्को हिउँदे अधिवेशन गत चैत १८ गते अन्त्य भएको थियो । राष्ट्रपतिले प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सक्ने व्यवस्था छ । राष्ट्रपतिबाट नीति तथा कार्यक्रममार्फत संसद्लाई सम्बोधन हुनेछ ।

    संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते आगामी आर्थिक वर्षका लागि अर्थमन्त्रीले बजेट प्रस्तुत गर्नेछन् । यस अधिवेशनलाई बजेट अधिवेशनका नामले पनि सम्बोधन गरिन्छ ।

    यहीँ वैशाख १९ गते नीति तथा कार्यक्रम प्रस्तुत हुने र ‘प्री बजेट’ छलफल बैैशाख २८ देखि हुने अनुमान छ । बजेट प्रस्तुत हुने १५ दिन अगावै ‘प्री–बजे’ट छलफल हुने कानुनी प्रावधान छ ।

    त्यसपूर्व सदनमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा प्री-बजेट छलफल हुने जनाइएको छ । यस पटक लामो समयदेखि प्रतिक्षा गरिएका संघीय निजामती ऐन र विद्यालय शिक्षासम्बन्धी विधेयक प्रस्तुत भई निष्कर्षमा पुर्याउन कोसिस हुनेछ ।

    संसद् सचिवालयले अधिवेशन सञ्चालनका लागि गर्नुपर्ने व्यवस्थापकीय र प्राविधिक आवश्यक सम्पूर्ण तयारी पूरा गरेको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

    प्रतिपक्षीको आक्रामक निर्णय

    प्रतिपक्षी दलहरू संसद्मा आक्रामक रूपले प्रस्तुत हुँदैछन् ।

    आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)को पूर्णबैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक परिदृश्य, सरकारको कार्यशैली, पार्टीको भूमिका र जनअपेक्षाबारे सांसदहरूसँग विस्तृत छलफल गरेका छन् ।

    अध्यक्ष प्रचण्डले अघिल्लो संसद् अधिवेशनमा प्रधानमन्त्री संसद्मा जवाफ नदिने अडानमा रहँदा माओवादी केन्द्रको स्पष्ट अडान र दबाबकै कारण उनलाई दुवै सदनमा उपस्थित भई जवाफ दिन बाध्य बनाउन सफल भएको उल्लेख गरे । ‘यो लोकतान्त्रिक प्रक्रियामा जनताको पक्षमा भएको विजय हो,’ उनले भने ।

    यसका साथै माओवादी केन्द्रले संसद्मा सशक्त ढंगले प्रतिवाद गर्ने निर्णय गरेको छ ।

    प्रतिपक्षी नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलहरूले संसद् बैठकमा आफ्नो बलियो उपस्थिति जनाउने बताएका छन् । उनीहरूको सरकारको रबैयाविरुद्ध संसद्मा उत्रिने तयारी छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images